फेरि कम्युनिष्ट एकता ! २०८४ को निर्वाचनसम्म टिक्ला ? (भिडियोसहित)

आज कम्युनिष्ट एकताका लागि भन्दै माओवादीसहितका दलहरुले समाजवादी मोर्चा घोषणा गर्दैछन् । माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी (विप्लव) मिलेर नयाँ सांगठनिक स्वरुप निर्माण गर्न लागेका हुन् ।

कहिल्यै एक आपसमा मिलेर बस्न नसक्ने चरित्र स्थापित गरेकाहरुबाट समाजवादी केन्द्रको नाममा कम्युनिष्ट एकता होला कि भन्ने आशा गरिएको छ । साथसाथै टुटफुटको लामै इतिहास बनाएका नेताहरुको एकता कस्तो होला र कहिलेसम्म त्यो संगठन टिक्ला भनेर चासोका साथ हेरिएको छ ।

तर, एकपटक समाजवादी मोर्चाको केन्द्रीय तहका नेताहरुको इतिहासलाई हेरौँ न ! प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जो १० वर्षे सशस्त्र द्धन्द्धका कमाण्डर हुन् । ठूलो क्षतीपूर्ण भूमिगत राजनीतिक इतिहासबाट शान्तिपूर्ण राजनीतिमा आएका प्रचण्डको माओवादी शान्तिप्रक्रियामा आइसकेपछिका उतारचढावलाई हेर्दा संसय पैदा गर्ने ठाउँहरु प्रशस्तै भेटिन्छन् ।

जसले १० वर्षे क्रान्तिमा प्रचण्डलाई काँधमा बोकेर हिँडेका थिए, पछि तिनैमध्येका कोही माओवादको बाटो नै गलत भनेर घर छाडे, कोही केही अघिसम्म हिँडेपछि माओवादले बोकेको व्यवस्था गलत छ भन्दै टाढिए । कसैले १० वर्षसँगै हिँडे र हरेक कुराको साक्षी बनेकाहरु प्रचण्डमाथि नै संघीन आरोपहरु लगाउँदै घर छाडे । जो पुनः जोडिन खोज्दैछन् ।

तात्तातो उदाहरण हेर्ने हो भने २०७४ को निर्वाचनमा मोर्चा बनाएका एमाले माओवादी केही वर्ष समेत टिक्न नसकेर आ–आफ्नो घरमा फर्किएको उदाहरण रहेको छ । नेकपाको एकता टिकाउन नसकेका प्रचण्ड जो अहिले पुनः कम्युनिष्ट एकता गर्ने तयारीमा रहेका छन् । जसको कारण पनि अहिलेको अवस्थामा कम्युनिष्ट एकता सम्भव होला भन्ने शंका गर्ने ठाउँहरु जीवितै छन् ।

नेपालको कम्युनिष्ट आन्दोलनमा खलि खाएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल घोषणा हुन लागेको मोर्चाको शीर्ष नेता हुन् । नेपालमा कम्युनिष्ट पार्टीको बिजारोपण गर्ने संस्थापकहरुसँगको उठबसमा रहेका उनी माले हुँदै एमालेमा लामो समय नेपाली राजनीतिको केन्द्रमा रहेका पात्र हुन् । लामो समय एमालेको राजनीतिमा रहेका उनी तत्कालिन नेकपा  विभाजनपछि छुट्टै दल खोलेर अहिले अध्यक्षका रुपमा रहेका छन् ।

जसले अहिलेको अवस्थामा नेपालमा कम्युुनिष्ट एकताको कुरा जोडतोडले उठाइरहेका छन् । संसद विघटनबाट पार्टी विभाजनसम्म पुगेका बेला पनि उनी नेकपा जोगाउन भन्दा नयाँ दल खोलेर त्यसको नेतृत्व आफू हत्याउने प्रपन्चमा रहेका कारण अहिले पनि एकता टिकाउन लाग्लान् भन्नेमा संशय छ ।

समाजवादी केन्द्रमा आउन राजी भएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव जो तराई केन्द्रीत राजनीतिमा लामो समय बेतित गरिसकेका छन् ।

जनाधिकार फोरम हुँदै जनता समाजवादीसम्म आइपुग्दाको उनको राजनीतिक टुटफुटको इतिहास लामै छ । जसरी पनि पदमा रहन चाहने उनी गत निर्वाचनमा सप्तरी क्षेत्र नं २ बाट पराजित भएर पनि लाजै नमानी पुनः उपनिर्वाचनमार्फत संसदको यात्रा तय गरे । लामो समय मधेश केन्द्रीत राजनीति गरेर मधेशी जनताले नै अविश्वास गर्न थालेपछि पुनः समाजवादी मोर्चामा मिसिने तयारीमा छन् ।

यता हिजो १० वर्ष प्रचण्डसँगै गुरिल्ला युद्दमा होमिएका नेत्रविक्रम चन्द्र विप्लव आज समाजवादी केन्द्रमा समावेश हुँदैछन् । शान्तिप्रक्रियापछि केही वर्ष संसदीय राजनीतिमा रहे पनि  माओवादले रोजेको संसदीय बाटो गलत भन्दै भूमिगत रहेका केही वर्षअघिदेखि खुला राजनीतिमा छन् । जो अहिले तीनै प्रचण्डसँग मिलेर र प्रचण्डले स्वीकार गरेको संसदीय व्यवस्थामै टेकेर समाजवादी एकताबाट अघि बढ्न खोज्दैछन् ।

झुट, फुट र टुटको फेहरिस्तबाट अघि बढेको नेपालको राजनीति अहिले पुनः कम्युनिष्ट एकता गर्ने कुरामा विश्वस्त बनाउन भने सकिरहेका छैनन् । अहिले बन्न लागेको समाजवादी केन्द्र नयाँ होइन, पुराना दोस्तीयारीको पुनर्मिलन जस्तो देखिन्छ ।

तत्कालिन नेकपाको फुटपछि सबै आ–आफ्नो घरमा फर्किए पनि केही पात्रहरु जो कम्युनिष्ट एकताका लागि मरिमेटेर लागे । नेतृत्व केन्द्रीत राजनीतिका कारण हुन नसकेको एकतालाई अहिले आएर पुनः एकीकरणको नारा देखिए पनि कार्यकर्ता र आम जनता तहमा भने त्यसको प्रभाव देखिँदैन । त्यसको अपजस फेरी त्यहि तत्कालिन नेकपाको एकता जोगाउन नसकेकोलाई जान्छ ।

अर्को पाटो भनेको सबैतिरको परीक्षणबाट असफल जस्तो देखिनेहरुबाट आगामी राजनीतिमा ठूलो अर्थ राख्न नसक्ने पूर्व अनुमानको कारण पनि अहिलेको एकताले खास अर्थ राख्दैन भन्ने देखिएको छ । कम्युनिष्ट चरित्रमा नेतृत्वको आलोचना गर्न नहुने भन्ने मन्त्रको कारण पनि एकताभित्रको फरक मतहरु दबाइएका छन् । जो ग्रासरुटसम्म भिजेका छन् उनीहरुले आ–आफ्नो नेतृत्वलाई गरेको रिपोटिङको वेवास्ताको कारण पनि यसले तल्लो तहसम्म प्रभाव पार्न नसक्ने देखिन्छ । तल्लो तहको कार्यकर्ताहरुसँग कुनै प्रतिक्रिया नलिइ गरेको एकताले भोलिका दिनमा कार्यकर्ताहरु तितरबितर नहोलान भन्न सकिन्न ।

विशाल कम्युनिष्ट पार्टी निर्माणमा दलहरु जुटे पनि ग्रासरुटबाट नदेखिएको उत्साहले पनि एकता लामो समय टिक्ला भन्नेमा शंका गर्ने ठाउँहरु प्रसस्त छन् भन्दा फरक पर्दैन् ।

‘दुई बढा पण्डितहरु एक ठाउँमा मिलेर बस्न सक्दैनन्’ भने जस्तै चारवटा दल र तीनका चारवटा अध्यक्षबीच हुने नेतृत्व हत्याउने लडाइँले पनि त्यसको कार्यगत एकता लामो समय जान नसक्ने अनुमान विश्लेषकहरुको अनुमान छ ।

स–साना टुक्रामा रहेकाहरु एक भएमा त्यसको मत जोडिएर धरापमा परेको अस्तित्व जोगिन्छ की भन्ने नेताहरुको विश्वास छ । तर, खिइँदै खिइँदै र छुट्दै गएको माओवादी एमालेबाट छुट्टिएपछि गठबन्धन गरेरै निर्वाचनमा गए पनि राष्ट्रिय दल बन्न नसकेको एकीकृत समाजवादी, तराई केन्द्रीय राजनीतिमा मात्रै सिमित जनता समाजवादी र हुनेखानेलाई सामन्ती देख्ने विप्लवको पार्टीबीचको एकताले पनि तात्विक अर्थ नराख्ने देखिन्छ । किनकी त्यो एकता भएपछि त्यहाँ देखिने सबैभन्दा ठूलो मनमुटाव नेतृत्व कसले गर्ने भन्नेमा देखिन्छ । अहिले आलोपालो पार्टीको नेतृत्व गर्ने भनिए पनि ०५२ सालबाट अध्यक्षबाट तल नबसेका प्रचण्ड स्वयंका लागि त्यसको नेतृत्वबाट बिमुख हुन मान्दैनन् । अर्को कुरा नेतृत्व हस्तान्तरणका लागि निर्वाचन आयोगको कारबाहीबाट बच्न महाधिवेशन  गरेको  जस्तो मात्रै गरि आफैँ पुनः नेतृत्वमा ररिरहेका प्रचण्डको शैली र ठूलो दलको नेतृत्व गर्न पाउनुपर्ने उपेन्द्रहरुको महत्वकांक्षाले त्यसको एकतालाई दीर्घकालसम्म लैजाला भन्ने संशय अहिले नै पैदा हुन थालिसकेको छ ।

त्यतिमात्र होइन पार्टी कमिटी केन्द्र मात्र नभएर प्रदेशदेखि स्थानीय तहसम्मको कमिटी विस्तारमा हुने भागबण्डाको हानथाप नै एकता विचलनको मुख्य कारण बन्ने देखिन्छ । यदि यो समाजवादी केन्द्र पनि फुटको अवस्थामा जाने हो भने यसअघि जस्तै संसदको पूर्ण कार्यकाल रहला भन्नेमा समेत शंका गर्न थालिएको छ । अहिले नयाँ राजनीतिक दलहरुले पूराना राजनीतिक दलहरुमा थपेको चुनौती र क्षयीकरण हुँदै गइरहेको पूराना राजनीतिक दलहरुसँगको जनताको विश्वास जोगाउनका लागि ‘इस्ट्रगल फर एक्जिस्टेन्स’ को शिद्धान्त अनुसार नयाँ तरिकाबाट जान लागेको देखिन्छ ।

नयाँ राजनीतिक दलहरु शैद्धान्तिक भन्दा पनि व्यवहारिक रुपमा संसदमा प्रस्तुत भइरहेका छन् । जसकारण दबाब महसुस गरिरहेका दलहरुले नयाँ दलको दबाबको सामना गर्नका लागि नयाँ धार जन्माउन लागेको बताउँछन्,’ राजनीतिक विश्लेषक डा. विष्णु दाहाल ।

‘यही राजनीतिक संक्रमणको अवस्थाले अहिलेको संसद पूरा समय चल्छ जस्तो देखिँदैन । नयाँ पार्टीभित्र वैचारिक भन्दा पनि अहिले व्यवहारिक रुपमा प्रस्तुत भइरहेका छन् । जसकारण वैचारिक रुपले भए पनि राज्य सञ्चालनका लागि दुरगामी रुपमा वैचारिक समूह चाहिन्छ भनेर समाजवादी केन्द्र निर्माण गर्न लागिएको जस्तो देखिन्छ,’ लोकपथसँगको कुराकानीका क्रममा दाहालले भने ।

सत्ता केन्द्रीत राजनीति हाबी भएका कारण पनि अहिले जसरी पनि सत्ता जोगाउनुपर्ने चुनौती वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा रहेको छ । बन्न लागेको समाजवादी मोर्चाका मुख्य धारमा रहेका माधवकुमार नेपालले पुरानो पार्टी एमालेबाट ग्रिन सिग्नल पाएमा त्यतैतिर लहसिने सम्भावना रहेका कारण पनि प्रचण्डमा माधव नेपाललगायत उपेन्द्र यावदहरुलाई जोगाउनुपर्ने चुनौति छ ।

साथै अस्तित्व नामेट हुँदै गइरहेको माओवादी आन्दोलनलाई जोगाउन पनि विप्वलसहितलाई एकठाउँमा ल्याएर राजनीतिक आधार तयार गर्नका लागि नयाँ धार निर्माणमा प्रचण्ड लागेको दाहालको तर्क छ ।

अहिले प्रचण्डलाई सत्ता जोगाउने मुख्य चुनौती रहेको छ । माधव नेपालको अस्तित्व संकटमा पर्दै जाने हो भने फेरि एमालेसँग मिल्दिन पनि सक्छन्, एमालेमा ओली–विद्याको टसल रहेको र केही अफर विद्याले गरेमा माधव नेपालमा उता जानसक्ने खतरा रहेको विश्लेषक दाहाल बताउँछन् । ‘प्रचण्डले माधव नेपाल होल्ड गर्न समाजवादी केन्द्र बनाएका हुन्  । उता मन्त्रिमण्डलमा जान खुट्टा उचालेका उपेन्द्र पनि समाजवादी केन्द्र निर्माणपछि होल्ड हुनसक्छन्,’ उनले भने, ‘विप्लव लगायतका नेताहरुको अस्तित्व संकटमा जाँदै गएपछि पनि यो एकता हुन लागेको हो ।’

गत स्थानीय निर्वाचनमा जसरी हर्क बालेनहरुले स्वतन्त्रहरुको प्रभुत्व जमाए त्यसको मुख्य चुनौती क्षयिकरण हुँदै गएको पुराना राजनीतिक दलहरुको अस्तित्व र आगामी निर्वाचनमा जोगाउनुपर्ने शाख महत्वपूर्ण रहेको छ ।

‘मिसन ०८४ भनेर नयाँ दलहरु र स्वतन्त्रबाट जितेका बालेन हर्कहरुले देशभर एक खालको प्रभाव बढाउँदै लगेको देखिन्छ,’ उनले भने, ‘नयाँ उदाएको दल रास्वपाहरुले आफ्नो संगठन विस्तारमा जोड दिँदै गएको कारण दलहरु एकपछि अर्को गरी अकर्मण्य बन्दै जाने नयाँले चाहिँ यी कुराहरु सर्फेसमा ल्याएको कारण जनताहरु नयाँलाई हेर्न चाहिरहेका छन् जसको कारण पनि पूरानाहरु नयाँ धारबाट अघि आउन लागेको बुझिन्छ ।’

यसअघिको एकतालाई हेर्दा एकता गरेर जाँदा आगामी निर्वाचनसम्म नपुगेको दृष्टान्त छ । नयाँ दलहरुले दबाब सिर्जना गर्न सके समाजवादी केन्द्र थप मिलेर जान सक्छ । तर त्यस बेलासम्म नयाँ राजनीतिक दलहरु पनि बिग्रहको अवस्थामा गएमा अवस्था अहिलेको जस्तै हुने दाहालको बुझाइ रहेको छ ।

‘०८४ को निर्वाचनसम्म यो दल जाला की नजाला भन्ने अहिले नै आंकलन गर्न अलि कठिन होला,’ उनले भने, ‘त्यतिबेलासम्म नयाँ पार्टीहरुले कतिको दबाब सिर्जना गर्लान् भन्ने कुराले त्यसको अर्थ राख्छ । नयाँ पार्टीहरुको दबाब धेरै भयो भने उनीहरु थप मिलेर जान सक्छन् । तर नयाँ पार्टीभित्रै विग्रह हुने अवस्था आएमा अरुमा चाहिँ नयाँ दल नै तितरबितर हुन सक्ने देखिन्छ ।’

संविधानमै समाजवादको नयाँ यात्रा तय गर्ने भनिएको छ । समाजवाद निर्माणका लागि विचार, सिद्धान्त र दृष्टिकोण मिल्नेहरु एक भएर जान लागेको बताउँछन् माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल । समाजवादी मोर्चा बनाएर त्यसलाई नयाँ अवधारणासहितको पार्टी बनाउने तयारीस्वरुप समाजवादी केन्द्र घोषणा गर्न लागिएको उनी बताउँछन् ।

‘संविधानमा हामीले खेलेका छौँ अबको यात्रा समाजवादी भनेर । समाजवादमा पुग्नका लागि विचार, शिद्धान्त र दृष्ट्रिकोण मिल्नेहरु अलग अलग बसेर त्यो सम्भव छैन । त्यसैले अहिले समाजवादी मोर्चा गठनको तयारी गरिएको हो,’ उनले भने, ‘अहिले चाँही एउटा मोर्चाको रुपमा रहन्छ । पछि नयाँ अवधारणासहित पार्टी बनाउने । छरिएर रहेका कम्युनिष्ट पार्टीहरुलाई एकीकृत गर्ने अभियान हाम्रो रहेको छ ।’

यसअघि पनि कम्युनिष्ट एकता नटिकेको स्वीकार गर्दै आगामी दिनमा पनि त्यस्तो हुन सक्ने भए पनि अघिका अनुभवबाट सिक्दै अघि बढ्नुपर्ने उनको भनाइ रहेको छ ।

‘हामीले  यसअघि पनि त्यहि प्राक्टिस गरेको हो । तर त्यसको बीचमा तिता मिठा अनुभव पनि रहेको छ । एकता भन्ने बित्तिकै भावना विचार र दृष्ट्रिकोण अन्तरनिहीत हुन्छ । विगतका नमिठा अनुभवबाट पाठ सिक्दै अघि बढ्ने हो,’ उनले भने ।

यसअघि नेपालमा कम्युनिष्ट पार्टीहरुको फुटको शृंखला लामै रहेको छ । तर अब पनि टुक्रिएर बस्नु भन्दा मिलेर जानु राम्रो हुने उनको मत छ ।

‘यसअघिको अनुभवहरुको आधारमा आगामी  दिनमा पनि नेतृत्वमा टसल होला भन्ने आँकलन गर्न सकिन्छ,’ उनी भन्छन् ,‘टुक्रिएर सकिनु भन्दा त मिलेर जानु राम्रो हो ।’

नयाँ राजनीतिक दलहरुले ०८४ मा  हुने आम निर्वाचनको तयारी थालिसकेका छन् । सैद्धान्तिक भन्दा व्यवहारिक पक्षमा बढी ध्यान दिइरहेको जस्तो देखिने नयाँ राजनीतिक दलहरुको कार्यशैलीको कारण पूराना राजनीतिक दलहरुले आफूले गरेको आन्दोलनको उपलब्धिहरुलाई जोगाउनु अहिलेको चुनौती देखिन्छ ।

यता अर्का राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि नेपालमा कम्युनिष्ट एकता भनिएजस्तो सम्भव नहुने बताउँछन् । लोकपथसँगको कुराकानीमा आचार्यले अहिले नचलेका खुद्रा पसलहरु मिलेर डिपार्टमेन्टल स्टोर बनाउन लागिएजस्तो भए पनि दीर्घकालिन रुपमा त्यसको कुनै अस्तित्व नरहने टिप्पणी गर्छन् । यसअघि आफूहरुले नेपालमा कम्युनिष्ट एकता अनन्तकालसम्म टिक्न नसकेको बताएको तर अहिले त्यो पुष्टि भएको बताउँछन् ।

‘समाजवादी केन्द्र बनाएर कम्युनिष्ट एकता गर्न लागेको कुरा नराम्रो होइन् । तर यसअघि नेकपा बन्ने बेलामा पनि हामीले भनेका थियौँ,’ उनले स्मरण गरे, ‘पूराना राजनीतिक दलहरुको अस्तित्व संकटमा गएको अवस्थामा नचलेका खुद्रा पसलहरु मिलेर डिपार्टमेन्टल स्टोर बनाए जस्तो एकता गर्न लागेको देखिन्छ ।’

समाजवादी केन्द्रको नेतृत्व गर्नेहरु एकएक ठाउँबाट फेलियर जस्तो देखिएको कारण नयाँ मोर्चा बनाए पनि त्यसबाट नयाँ अपेक्षा गर्न नसकिने उनी बताउँछन् ।

‘अहिले समाजवादी केन्द्रमा रहेका शीर्ष नेताहरु यसअघि पनि पटकपटक परीक्षण भइसकेका पात्रहरु हुन् । त्यसकारण पूरानै कार्यशैलीबाट नयाँ कामको अपेक्षा गर्न नसकिएला,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?