काठमाडौं । सरकारले यही असार मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको मध्यपहाडी (पुष्पलाल) राजमार्गअन्तर्गत कतिपय खण्डमा निर्माणका लागि प्रक्रिया शुरु हुन सकेको छैन ।
आयोजना खाप्टिएका खण्डमा कुन आयोजनालाई कसरी अघि बढाउने भन्ने निर्णय नहुँदा काम रोकिएका छन् । अधिकांश स्थानमा ग्राभेलको ठेक्का सम्पन्न नभएका खण्डमा कालोपत्रको प्रक्रिया अघि बढ्न नसकेको हो ।
बूढीगण्डकी जलाशययुक्त आयोजनाका कारण गोरखा र धादिङका केही खण्डमा र रामेछापमा ग्राभेल ठेक्का नसकिएकाले निर्माण अघि बढाउन नसकिएको आयोजनाले जनाएको छ । पहिले रेखाङ्कन गरिएअनुसार काम गर्दा पछि सडक डुब्ने भएकाले कसरी निर्माण अगाडि बढाउने भन्ने निर्णय गरेर मात्रै काम अघि बढाइने मध्यपहाडी (पुष्पलाल राजमार्ग आयोजना निर्देशनालय)का सूचना अधिकारी सुरजहरि अधिकारीले बताए ।
उनका अनुसार उक्त विषयमा सरोकारवालासँग पटक–पटक छलफल भइरहे पनि निर्णय भने हुनसकेको छैन । बीचको खण्डलाई छाडेर दुवैतर्फबाट सडक निर्माण भइसकेको सूचना अधिकारी अधिकारीले बताए । उनले भने, “आयोजना खप्टिएका ठाउँमा मात्रै निर्माण गर्न बाँकी छ । एलाइनमेन्ट परिवर्तन गर्ने कुरा भएको छैन ।” रामेछापको विभिन्न खण्डमा पहिले ग्राभेलको ठेक्का लगाइएको थियो । ग्राभेलको ठेक्का नसकिएकाले नयाँ ठेक्का लगाउन नमिलेको उनले बताए।
बूढीगण्डकी जलाशययुक्त आयोजनाअन्र्गत ३३ किमी काम रोकिएको छ । अहिलेको रेखाङ्कनबाट सडक निर्माण गर्दा पछि डुब्ने ठाउँ भएकाले निर्माण अगाडि बढाउन नसकिएको सूचना अधिकारी अधिकारीले बताए । उनका अनुसार ठेक्कामा जान दुईरतीन पुल मात्रै बाँकी छन् । बाँकी रहेका पुलको पनि विभागमा डिजाइन स्वीकृतिको क्रममा छन् ।
निर्माणाधीन २३ पुलको काम अगाडि बढाउनुपर्ने सूचना अधिकारी अधिकारीको भनाइ थियो । आगामी आवको बजेटमा मध्यपहाडी राजमार्गअन्र्तगत पाँचथर, नुवाकोट, पर्वत, बागलुङ, जाजरकोटलगायत १२ खण्डको निर्माण तथा स्तरोन्नतिका लागि रू तीन अर्ब ४९ करोड छुट्ट्याउने निर्णय भएको उनले जानकारी दिएका छन् ।
विभिन्न खण्डमा स्तरोन्नतिको काम भइरहेको र आगामी आवमा त्यसले निरन्तरता पाउने सूचना अधिकारी अधिकारीले बताए । “हाल चार सय किमीभन्दा बढी ठेक्का निर्माणाधीन अवस्थामा छन्”, उनले भने, “अहिले सञ्चालनमा रहेका सबै ठेक्का कालोपत्रको क्रममा छन् ।”
अधिकारीका अनुसार उक्त आयोजनाअन्तर्गत राजमार्गमा जग्गा प्राप्तिको समस्या आइरहेको छ । जग्गाका लागि रकम दिनसक्ने अवस्था नभएकाले ठाउँठाउँमा जग्गा प्राप्तिमा समस्या भइरहेको उनले बताए । “राष्ट्रिय राजमार्गको अधिकार क्षेत्र २५र२५ मिटर भए पनि अहिलेका लागि १५ मिटर भनिएको छ । कानुनी रुपमा २५ भए पनि व्यवहारिक रुपमा १५ मिटरमा काम भइरहेको छ”, उनले भने, “त्यही मापदण्डानुसार जग्गा पाउन समस्या भइरहेको छ ।”
सडकको चौडाइका लागि जग्गा १० मिटरदेखि १५ मिटरसम्म जग्गा लिएको आयोजनाले जनाएको छ । अधिकारीले भने, “अहिले पनि कतिपय ठाउँमा विवाद छ । गोरखामा विवाद छ ।” आव २०७७र७८ को सरकारको नीति तथा कार्यक्रमका अनुसार आव २०७९र८० सम्म निर्माण सम्पन्न गर्नुपर्ने समय तोकिएको थियो । उक्त अवधिअनुसार असारमसान्तमा समय सकिन्छ । हाल आयोजना सम्पन्न गर्नका लागि आव २०८४र८५ प्रस्ताव गरिएको छ ।
केही वर्षयता वर्सेनि झण्डै डेढसय दुई सय किमी सडक कालोपत्र भइरहेको सूचना अधिकारी अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार आयोजनाको सुरुको विन्दु पाँचथरको चियोभञ्ज्याङ र अन्तिम विन्दु बैतडीको झुलाघाट हो । उक्त राजमार्ग निर्माण आव २०६४र६५ देखि शुुरु गरिएको थियो । सरकारले आव २०६९र७० मा राष्ट्रिय गौरवको आयोजना घोषणा गरी प्राथकिताका साथ अघि बढाएको थियो । राजमार्गको कूल लम्बाइमध्ये एक हजार किमी आयोजना स्थापना हुनुअघि नै निर्माण भएर सञ्चालन भइसकेको थियो । उक्त खण्डमा पुरानो सडक छन् भने अन्यन्त्र नयाँ ट्र्याक खुलेका छन् ।
आयोजनाले हालसम्म एक हजार तीन सय ४६ किमी कालोपत्र भएको जनाएको छ भने ९९ पुल निर्माण सम्पन्न भएका छन् । मध्यपहाडका २६ जिल्लाका दुई सय १५ बस्ती जोड्दै निर्माण हुने यस राजमार्ग सम्पन्न हुँदा मध्यपहाडमा बसोबास गर्ने नागरिकलाई सहज हुने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया