काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ ।
बिहीवार दिउँसो १ बजेबाट प्रतितिनिधि बैठक शुरु भए लगतै कांग्रेस सांसदहरु उभिएपछि सभामुख कृष्णबहादुर महराले सांसद मिनेन्द्र रिजाललाई बोल्न समय दिएका थिए ।
सभामुखले समय दिएपछि सांसद रिजालले कांग्रेस नेताका नामका अस्पताल, गोविन्द केसीको अनसन लगायतका विषयमा सहमतिबाट सरकार अघि बढ्ने प्रतिवद्धता नजनाएसम्म संसद बैठक अघि बढ्न नसक्ने घोषणा गरेका थिए । यासेसँगै माघ २० सम्मको लागि बैठक स्थगित भएको छ ।
बैठकमा प्रहरी विधेयक प्रस्तुत हुने कार्यक्रम तय भएको थियो ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सो विधेयक टेवल गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिए ।
गत पुष ३० गते प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता भएको सो विधेयक आजको बैठकको कार्यसूची रहेको छ ।
प्रहरीको संगठनलाई संघीय संरचना अनुसारको बनाउन सरकारले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय विधेयक प्रतिनिधिसभाको आजको बैठकमा टेबल गर्ने भएको हो ।
यसैगरी केन्द्रले प्रहरी ऐन नबनाउदा नै प्रदेश २ ले प्रदेश प्रहरी ऐन बनाउन लागेपछि केही समय अघि केन्द्र सरकारले रोकेको थियो ।
संसद सचिवालयका अनुसार विशेष आर्थिक क्षेत्र पहिलो संशोधन विधेयक र भूउपयोग विधेयक टेबल गर्ने सरकारको तयारी छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक दफावार छलफलका लागि समितिमा पठाउने तयारी छ ।
यसैबीच हिजो (बुधवार) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो माग पूरा नभएसम्म आन्दोलन यथावत राख्ने बताएका छन् ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा आफुहरुको असहमति हुँदाहुँदै सरकार र सभामुखले जवरजस्ती प्रतिनिधिसभाबाट विधेयक पारित गराएको कांग्रेसको अरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया