प्रधानमन्त्री ओली गृहजिल्ला झापामा

भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा आएका छन् । 

उनले दमकमा आजदेखि शुरु हुने बृहत् बाल महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने कमल गाउँपालिका–३ मा रहेको शहीद धर्मभक्त माध्यमिक विद्यालयमा हुने स्वर्ण महोत्सव उद्घाटन गर्ने उनका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

प्रधानमन्त्रीसँगै संस्कृति,पर्यटन तथा नागरिक उडड्यनमन्त्री रबीन्द्र अधिकारी, महान्यायधिवक्ता अग्नि खरेल सहभागी छन् । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रधानमन्त्रीलाई विमानस्थलमा स्वागत गरेका थिए । 

प्रधानमन्त्री ओलीले आजै अपराह्न नेपालको पुरानो शहर भद्रपुरलाई भारतको सीमावर्ती बजार गलगलियासँग जोड्ने बहुप्रतिक्षित मेची पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले बताए । 

त्यसैगरी प्रधानमन्त्रीले आजदेखि चन्द्रगढी विमानस्थलबाट हुने रात्रिकालीन उडानको उद्घाटन गरेर काठमाडौँ फर्किने कार्यक्रम रहेको प्रेस संयोजक अधिकारीको भनाइ छ । 

विसं २०२६ बाट चन्द्रगढी–काठमाडौं उडान भर्न शुरु गरेको चन्द्रगढी विमानस्थलमा दैनिक एक हजार बढी यात्रु आउने जाने गरिरहेको विमानस्थलका प्रमुख पूर्ण चुँडालले बताए । उनका अनुसार दैनिक यहाँबाट बुद्धएयरका दुई वटा, यतिका दुई वटा, श्री एयरका दुई वटा र हप्तामा तीन पटक नेपाल एयरलाइन्सले काठमाडौंसम्मका उडान भरिरहेका छन् । 

फ्रेबु्रअरी १० देखि नियमित रात्रिकालीन सेवा दिने बुद्धएयरले बुधवार राति परीक्षण उडानसमेत गरिसकेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?