काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रहरी विधेयक प्रस्तुत हुँदैछ । आज बस्ने बैठकमा सरकारले संघीय संरचना अनुसारको प्रहरी विधेयक प्रस्तुत गर्न लागेको हो ।
संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालका अनुसार गत पुष ३० गते प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता भएको सो विधेयक आजको बैठकको कार्यसूची रहेको छ ।
बिहीवार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रामबहादुर थापाले सो विधेयक टेवल गर्ने सम्भावित कार्यसूची तय भएको अर्यालले बताए ।
प्रहरीको संगठनलाई संघीय संरचना अनुसारको बनाउन सरकारले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय विधेयक प्रतिनिधिसभाको आजको बैठकमा टेबल गर्ने भएको हो ।
यसैगरी केन्द्रले प्रहरी ऐन नबनाउदा नै प्रदेश २ ले प्रदेश प्रहरी ऐन बनाउन लागेपछि केही समय अघि केन्द्र सरकारले रोकेको थियो ।
संसद सचिवालयका अनुसार विशेष आर्थिक क्षेत्र पहिलो संशोधन विधेयक र भूउपयोग विधेयक टेबल गर्ने सरकारको तयारी छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक दफावार छलफलका लागि समितिमा पठाउने तयारी छ ।
यसैबीच हिजो (बुधवार) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो माग पूरा नभएसम्म आन्दोलन यथावत राख्ने बताएका छन् ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा आफुहरुको असहमति हुँदाहुँदै सरकार र सभामुखले जवरजस्ती प्रतिनिधिसभाबाट विधेयक पारित गराएको कांग्रेसको आरोप छ ।
कांग्रेसले यसअघि चिकित्सा शिक्षा विधेयक र डा. गोविन्द केसीको अनसनको समर्थनलाई गौण बनाउँदै पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नामबाट स्थापित अस्पताल केन्द्र सरकार मातहत राख्न माग गर्दै दुवै सदनका बैठक अवरोध गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया