काठमाडौं । मानव अधिकारको संरक्षण र संवर्द्धनका पक्षमा एकापसमा सहयोग र सहकार्य गर्नेलगायत समसामयिक विषयमा राष्ट्रिय समाचार समिति र राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीबीच छलफल भएको छ ।
रासस केन्द्रीय कार्यालयमा आज एको अन्तरक्रियामा मानव अधिकार सुनिश्चित गर्न आमसञ्चारमाध्यम र आयोगबीच आपसी सहयोग र सहकार्य हुन आवश्यकता औँल्याइएको थियो । समाचार बैंकका रूपमा रहेको राससमार्फत मानव अधिकारसम्बन्धी विषय उजागर गर्नुपर्नेमा जोड दिइयो ।
सो अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले व्यावसायिक हिसाबले आयोग र राससबीच अन्यान्योस्रित सम्बन्ध रहेको चर्चा गर्दै स्वदेश तथा विदेशमा समेत कार्यसञ्जाल रहेको नेतृत्वदायी आमसञ्चार माध्यमका रूपमा स्थापित राससमार्फत मानव अधिकारसम्बन्धी विषयलाई व्यापक रूपमा प्रचारप्रसार गर्नसकिने धारणा व्यक्त गरेका छन् । उनले मानव अधिकारजस्तो संवेदनशील एवं महत्वपूर्ण क्षेत्रको अनुगमन तथा मूल्याङ्कनसहित आवश्यक सिफारिस गर्ने संवैधानिक अधिकार प्राप्त आयोगको भूमिका अझ सशक्त र प्रभावकारी हुनुपर्ने बताए । मानव अधिकारसम्बन्धी मुद्दालाई राससले प्राथमिकता दिएको स्पष्ट गर्दै कार्यकारी अध्यक्ष झाले खोजमूलक समाचार, तालिम तथा अभिमुखीकरण, अनुगमन लगायतका क्षेत्रमा सहकार्य गर्न सकिने प्रस्ताव प्रस्तुत गरेका छन् ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आमसञ्चारमाध्यमसँगको सहयोग र सहकार्यलाई निरन्तरता दिँदै द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र सुमधुर बनाउने क्रममा राससका पदाधिकारीसँग भएको छलफल फलदायी भएको धारणा व्यक्त गरेका छन् । राससबाट प्राप्त सहकार्यको प्रस्तावका सन्दर्भमा जिम्मेवार पदाधिकारीहरूसँग छलफल गरी कार्यान्वयनमा प्रक्रियामा जान आयोग तयार रहेको प्रवक्ता डा पोखरेलले स्पष्ट गरेका छन् ।
आयोगका सहसचिव सम्झना शर्मा र सञ्चार अधिकृत दुर्गा पोखरेलले जिम्मेवार आमसञ्चारमाध्यमसहित सरोकारवाला पक्षको सहयोग र सहकार्यमा मात्र मुलुकमा मानव अधिकार सुनिश्चित हुने धारणा व्यक्त गर्दै रासससँगको सहकार्यमा जोड दिएका छन् । सो अवसरमा राससका महाप्रबन्धक सिद्धराज राई, प्रमुख समाचारदाता उत्तम सिल्वाल, प्रधानसम्पादक एकराज पाठक र आलेख सेवा प्रमुख कृष्ण अधिकारीले मुलुकका आमसञ्चारमाध्यमको समाचारको स्रोतका रूपमा रहेको रासस र आयोगबीचको व्यावसायिक सम्बन्धलाई अझ परिणाममुखी बनाउँदै आपसी सहयोग र सहकार्यमा जोड दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया