गाई पाल्ने ‘गोपी’ हरुको कथा

काठमाडौं । केही दिनअघि चितवनका किसानले भाडामा जग्गा लिएर लगाएको बन्दा विक्री नभएपछि बन्दामाथि डोजर लगाए । किसानले त्यसरी डोजर लगाउनुको एउटै कारण थियो, आफ्नो बन्दाको उचित मूल्य नपाउनु । यो त एउटा उदाहरण मात्र हो । यस्ता समाचार नेपालमा पढिरहनुपर्ने बाध्यता छ । नेपालमा किसानका लागि मात्र होइन, जुनसुकै व्यापारका लागि पनि वातावरण नबनेको गुनासो आइरहन्छ ।

यसैको प्रत्यक्ष प्रभाव हुनुपर्छ, नेपालीहरु नेपालमा केही गर्नुको साटो पासपोर्ट बनाउँछन् । र, विदेश ताक्छन् ।

लेखक सामीप्यराज तिमिल्सिनाले यो विषयलाई लामो समयदेखि बुझेका थिए । नेपालमा गरे के हुँदैन? के नेपालमा सम्भावना नै नभएका हुन् त? यस्ता विषय फिल्ममा कसरी ल्याउन सकिएला? यिनै प्रश्नहरुको उत्तर खोज्दै लेखेको फिल्म ‘गोपी’ को यतिबेला चौतर्फी चर्चा छ ।

सामीप्यराज तिमल्सेना सुनाउँछन्, ‘यो फिल्मले आफ्नै देशमा बसेर केही गरौँ भन्ने युवापुस्ताको कथा बोकेको छ, यो कथा हामी नेपालीकै कथा हो ।’

उनका अनुसार यो फिल्मको कथा नेपालमा मात्र होइन, विश्व सिनेमा बजारमै यस्तो विषयमा एकदमै कम निर्माण हुन्छन् । फिल्मले मानव र पशुको आत्मीयतालाई उठाउने प्रयत्न गरेको छ ।

‘फिल्मको कथालाई रुचाउने या नरुचाउने दर्शकको रोजाइ होला, तर नेपालमा व्यवसाय गर्न के–कस्ता चुनौती हुन सक्छन् भन्ने विषयलाई पनि हामीले कथानक बनाएका छौँ’, लेखक तथा समीक्षक तिमल्सेना सुनाउँछन्, ‘यो फिल्म नेपालको प्रतिनिधि घटना मात्र हो, यस्ता खालका विषय उठाइनुपर्छ भन्ने लागेर नै हामीले फिल्म तयार पारेका हौँ ।’

यसो त फिल्मले सामाजिक विषय मात्र उठाएको छैन । तिमल्सेनाले फिल्ममा पूर्णत मनोरञ्जन भएको बताउँछन् । फिल्मको पहिलो रोजाइ मनोरञ्जनसँगै म्यासेज पनि भएको उनको दाबी छ । ‘फिल्ममा पूर्ण मनोरञ्जन पनि छ, दर्शकले म्यासेज मात्र पाउनुहुन्न, तर मनोरञ्जनसँगै फिल्ममा म्यासेज छ, जुन म्यासेजले नेपालमा केही गर्न सकिन्छ भनेर पनि दर्शकलाई कन्भिन्स गराउन खोज्छ ।’, तिमल्सेना थप्छन् ।

दर्शकको प्रतिक्रिया आफ्नो ठाउँमा छ । तर फिल्ममा उठाइएको ‘गोपी’ को पात्र नेपाली समाजकै एउटा प्रतिनिधि घटना भएको तिमल्सेना बताउँछन् । उनका अनुसार नेपालमा व्यवसाय गर्नलाई पनि सरकारको स्पष्ट नीति हुनुपर्छ ।

फिल्म तयार भइसक्दा जुन परिवेश र सोचका साथ सामीप्यले कथा तयार पारेका थिए, शतप्रतिशत रुपमा त्यो कथा पूर्ण गर्न नसकिएको हो कि भन्ने पनि लागेको छ सामीप्यलाई ।

‘हामीले जनावरसँग काम गर्नुपर्ने थियो, जनावरसँग काम गर्दा कसरी गर्ने भनेर लामो रिसर्च गरिएन’, सामीप्य कमजोरीको आँकलन गर्दै सुनाउँछन्, ‘गाईसँगको जुन सम्बन्ध, आत्मीयता हुनुपर्ने थियो, त्यो नभएको हो कि भन्ने लागेको छ, शूटिङको अप्ठेरोका लागि मलाई बिझेको कुरा त्यही थियो ।’

यसअघि आफूले लेखेका कथा कतै न कतै मिलेको जस्तो लागेको सामीप्यले स्वीकार्छन् । यो कथा भने आफूले विशुद्ध मौलिक रुपमा लेखेको उनी बताउँछन् । कथाको पछिल्लो स्वरुप तयार हुन पनि झण्डै एक वर्ष लागेको थियो । तीन महिना पूर्ण रुपमा समय दिनुपरेको थियो ।

लेखक सामीप्यराज तिमल्सेना

‘मैले  अरु पनि धेरै कथा लेखेँ, ती कथाहरु चारतिर मिलेको जस्तो लाग्थ्यो, यो फिल्म आफैलाई पनि लेखनको हिसाबले चित्त बुझेको फिल्म हो ।’

फिल्मको कथामा कहीँकतै पात्रको संयोजन कृष्ण चरित्रसँग मिल्दो छ । कृष्ण चरित्रमा कृष्णजस्तै ‘गोपी’ मा विपिनको कथा छ । सामान्य हिसाबले दर्शकले यो कुरालाई आँकलन नगरे पनि फिल्मका पात्रहरु कृष्ण चरित्रका पात्रबाट ‘गोपी’ मा प्रभावित भएको बताउँछन् । उनी भन्छन्, ‘फिल्मले रिलिजअघि नै राम्रो प्रतिक्रिया पाइरहेको छ, यो कथा गाई पालक किसानसँग पनि मिल्छ, हामीले कथा सुनाउँदा पनि फिल्मको सङ्घर्षसँग कथा मिल्छ भनेर धेरैले सुनाउनुभयो, खुशी लागेको छ, यो फिल्म गाईपालन गर्ने हरेक गोपीहरुको कथा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?