डा. केसीको स्वास्थ्य अवस्था जोखिमउन्मुख, कुनै पनि बेला हृदयघात हुनसक्ने

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जोखिमउन्मुख देखिएको छ । 

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै २२ दिनदेखि अनसनरत डा.केसीको स्वास्थ्य अवस्था जोखिमउन्मुख देखिएको हो ।

गत पुस २५ गतेदेखि इलामबाट १६ औँ अनसन शुरु गरेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि गत माघ ४ गते नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । उनको हाल त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

गत साउन १० गते १५ औँ अनसनका क्रममा भएको सम्झौता कार्यान्वयनको माग राखी २२ दिनदेखि डा. केसी अनसनरत छन् । 

डा. केसीलाई छातीको दुखाई बढेपछि सास फेर्न गाह्रो हुन थालेको छ भने रगतमा ग्लुकोज र पोटासियमको मात्रा कमी, रक्तचाप घट्नु, मुटुमा समस्या देखिनु लगायतका समस्या देखिएपछि उनको अवस्था जोखिमउन्मुख देखिएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिए । तर, डा. केसीले उपचार गराउन मानेका छैनन् । शरीर अत्यन्त कमजोर भएकाले कुनै पनि बेला हृदयघात हुनसक्ने चिन्ता चिकित्सकहरुमा छ ।

यसैगरी पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले डा. केसीको जीवन रक्षाको पहल गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।

मंगलवार पूर्वप्रधानन्यायाधीश श्रेष्ठले डा. केसीलाई भेटी अनसनप्रति ऐक्यबद्धता जनाउँदै माग सम्बोधन र अनसन टुंग्याउने गरी अग्रसरता लिन प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । 

स्वास्थ्य जोखिमपूर्ण भएपछि डा. केसीले आफूलाई भेट्न आउनेसँग बोल्न छाडेका छन् । 

तर, केसीको यो अवस्थाप्रति सरकारले कुनै चासो देखाएको छैन ।

उता सरकारलाई दबाब दिन चिकित्सकहरुले केसीको समर्थनमा गत सोमवारदेखि आन्दोलन गरिरहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?