काठमाडौं । नेकपा माओवादी केन्द्रसहितको समाजवादी केन्द्र घोषणा हुने भएको छ ।
लामो समयदेखिको छलफल र बहसपछि समाजवादी केन्द्रको घोषणा हुने भएको हो ।
समाजवादी केन्द्रमा माओवादी केन्द्रसहित माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी आदी रहनेछन् ।
कम्युनिष्ट धारका दलहरुलाई एक ठाउँमा ल्याउने प्रयास गरिएको एकीकृत समाजवादीका नेता एवं सांसद मेटमणी चौधरीले लोकपथलाई जानकारी दिए । उनका अनुसार लामो छलफलपछि समाजवादी मोर्चा बनाउने सम्भव भए भोलि नभए एक दुई दिनमा मोर्चाको आधिकारिक घोषणा गरिनेछ ।
‘कम्युनिष्ट आइडियोलोजि बोक्नेहरुलाई एक ठाउँमा ल्याउने प्रयास स्वरुप समाजवादी केन्द्रको घोषणा गर्न लागिएको हो ।’ चौधरीले भने, ‘सम्भव भएसम्म भोलि र नभए एक दुई दिनमा उक्त संयुक्त मोर्चाको घोषणा गर्न लागिएको हो ।’
उनका अनुसार केन्द्रको ठूलो दलको हैसियतमा पहिलो अध्यक्षता प्रचण्डले गर्नेछन् । पहिलो बैठक माओवादी केन्द्रको कार्यालयमा प्रचण्डको अध्यक्षतामा बस्नेछ । दोस्रो जनता समाजवादी पार्टीको कार्याललमा उपेन्द्र यादवको नेतृत्वमा बैठक बस्नेछ । त्यस्तै तेस्रो बैठकमा माधव कुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादीको कार्यालयमा र चौधो बैठक विप्लवको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको कार्यालयमा बैठक बस्नेछ ।
सबै दलको सहमतिमा समाजवादी केन्द्रको घोषणा गर्न लागिएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले लोकपथलाई जानकारी दिए । उनले फुटको अवस्थामा रहेको कम्युनिष्टको एकता गर्न समाजवादी केन्द्रको घोषणा गर्न लागिएको लोकपथलाई जानकारी दिए । उनका अनुसार सबै दलको सहमतिको प्रयास भइरहेको बताए ।
‘सबै दलको सहमति भएमा सम्भवत भोलि समाजवादी केन्द्रको घोषणा हुन्छ । सबै राजनीतिक दलहरुले छलफल गरिरहेका छन् ।’ उनले भने ।
तत्कालिन नेकपाको विभाजनपछि समाजवादी केन्द्र बनाउने तयारी गरिएको थियो । नेपाल समाजवादी पार्टीको नेतृत्व गरिरहेका डा. बाबुराम भट्टराईले समाजवादी केन्द्र बनाउनुपर्ने चर्चा गरिरहे पनि उनी अहिले भने उक्त केन्द्रमा सहभागि नहुने भएका छन् । यद्यपी उनीसँग समेत छलफल भइरहेको चौधरीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया