विश्व साइकलयात्री पुष्कर शाहको गुमनाम दैनिकी, यी हुन् नभनिएका कुरा

काठामाडौं । आजभन्दा २० वर्ष अगाडि एक व्यक्ति एक जोर कपडा, आमाले दिएको एक सय रुपैयाँ, एउटा साइकल र एउटै सपना लिएर घरबाट निस्किए ।

एउटा साइकलको भरमा विश्व सयर गर्ने उनको यो अठोटलाई कतिले पागलपनको नाम दिए कतिले ‘असम्भव’ भनिदिए । हुन पनि साइकलमा विश्व भ्रमण गर्नु भनेको मानिसहरुको कल्पनाले नभ्याउने कुरा नै थियो त्यसबेला । 

तर  पुष्करले सपना देखे । ४ हजार १५ दिनसम्म उनको साइकलका पाङ्ग्रा अनवरत चलिरहे । वि सं २०५५ देखि शुरु भएको उनको सपनाको यात्राले ११ वर्षपछि २०६६ सालमा मूर्तरुप लियो । अन्ततः साइकलमा विश्व भ्रमण गर्ने पहिलो व्यक्ति भन्दै इतिहासमा उनको नाम स्वर्ण अक्षरले कोरियो । 

सय ५० देश टेकेर फर्किएका उनका गोडा त्यसपछि पनि शान्तसँग बस्न मानेनन् । विश्वका कुनाकुना पुगेर त्यहाँको रीतिरिवाज, संस्कृति, जीवनशैलीलाई नजिकैबाट नियालिसकेका उनका आँखाले एकपटक विश्वको ‘वाइड भिउ’ हेर्न चाहे । नभन्दै यो सपना पूरा गर्न उनले सगरमाथा पनि छिचोले । 

विश्वकै छानालाई टेक्दाको त्यो अनुभव स्मरण गर्दै उनी भन्छन्, ‘सगरमाथा पनि म भन्दा होंचो लाग्यो त्यसबेला त ।’

 पुष्कर शाहको ११ वर्षे साहसिक यात्रा पूरा भएको अहिले झण्डै १ दशक भयो । भलै केही समय अघि उनले अस्ट्रेलियामा भाँडा मस्काउँदै गरेको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भयो तर, आफ्नो एड्भेन्चरस जीवनपछिको जीवन उनले केकसरी बिताइरहेका छन् भनेर प्रायलाई थाहा छैन । हाम्रो समाजमा अक्सर केही समयसम्म सर्वाधिक लोकप्रियता कमाएपछि व्यक्ति गुमनाम हुन्छन् । त्यस्तै भए पुस्कर पनि । 

उनको यही गुमनाम जीवन पछ्याउँदै लोकपथ टिम पुग्यो उनी बस्ने ठाउँँसम्म ।

अहिले  पुष्कर एक्लो जीवन बिताइरहेका छन् । यसरी बस्नु आफ्नो बाध्यता भन्दा पनि इच्छा भएको उनी बताउँछन् । ‘विवाह, छोराछोरी भनेको आवश्यकता भन्दा पनि चाहनाको कुरा हो जस्तो लाग्छ मलाई’, मुस्कुराउँदै पुस्कर थप्छन्, ‘मैले त एक्लो जीवनमा नै भरिपूर्णता अनुभव गरिरहेको छु’ ।’ 

बिहान बेलुका साइकलमा चोकतिर टहलिने, खाना पकाउने, पुस्तक पढ्ने यसरी नै बितिरहेका छन् उनका दिनहरु । कहिलेकाहीँ पुराना एल्बम, प्रमाण पत्र, विभिन्न देशबाट ल्याएका मायाको चिनोहरुसँग बात मार्छन्, त्यसैमा हराउँछन् उनी । हुन पनि आफूले पाएका सम्मानपत्र, प्रमाणपत्र, पुरस्कार, उपहारहरु एउटा घरमा समेत अटाउन सम्भव नभएको उनी सुनाउँछन् । 

‘त्यसैले यी सबै सामानहरुलाई संग्रहालय बनाएर संरक्षण गर्ने मेरो इच्छा छ’, भन्छन् उनी । 

१०–५ बजेसम्म डेस्कमा बसेर काम गर्ने रहर पुस्करमा कहिल्यै जागेन त्यसैले अहिले उनी ‘दि पुस्कर ट्रस्ट’ नामक ट्रस्टमार्फत् काठमाडौंलाई साइकलमैत्री बनाउने अभियानमा लागेका छन् । 
भ्रमणका दौरान आफूले झेलेका आरोह अवरोहहरु विश्व भ्रमण गर्न निस्किएका अन्य साइकल यात्रीले भोग्नु नपरोस् भनेर नेपाल आएका बेला आफूले उनीहरुलाई आश्रय समेत दिने गरेको उनले सुनाए । 

मेरो जीवन यस्तो होस् भनेर सबैले चिताएका हुन्छन् तर, चिताएजस्तै जीवनचित्र कोर्न निकै कम मानिस मात्रै सफल हुन्छन् । पुस्कर शाह तिनै थोरैमा पर्छन् । साहस र चुनौतीमा उनले पाएको खुसी हेर्न भिडियो लिंक क्लिक गर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?