आपीडि सेवा बन्द गरेर एनएमसीका स्वास्थ्यकर्मी आन्दोलित (भिडियोसहित)

लोकपथ
2k
Shares

काठमाडौं । जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पताल (एनएमसी)का चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी आन्दोलित बनेका छन् । मंगलबार अस्पतालमा बिरामीका आफन्तले तोडफोड गरेको विरोधमा ओपीडि सेवा नै बन्द गरेर स्वास्थ्यकर्मीहरु आन्दोलित भएका हुन् ।

अस्पतालमा उपचाररत सिन्धुपाल्चोकका सुवर्णकुमार धितालका आफन्तले मंगलबार अस्पतालमा तोडफोड गरेका थिए । अस्तपाल प्रशासनले बिरामीको बारेमा आफन्तलाई यकिन जानकारी नगराएको भन्दै उनीहरुले अस्पतालमा तोडफोड गरेका हुन् । जसबाट अस्पतालको इमर्जेन्सी विभाग अघिको दुईवटा झ्यालमा क्षति पुगेको छ ।

अस्पतालमा क्षति पुर्याउनेलाई कारवाहीको माग गर्र्दै चिकित्सक, नर्सलगायका स्वास्थ्यकर्मी र कर्मचारीहरुले बुधबार बिहानैदेखि अस्पतालमा धर्ना दिएका हुन् ।

अस्पतालका प्रबन्ध निर्देशक बसुरुद्धिन अन्सारीले बिरामीका आफन्तहरुले नियोजित रुपमा अस्पतालमाथि प्रहार गरेपछि सरकारसँग न्याय माग्नका लागि उपचार सेवा बन्द गरिएको बताए । ‘कुनै पनि चिकित्सकले बिरामीलाई मार्नका लागि उपचार गर्दैन बचाउनका लागि गर्छ,’ उनले भने, ‘यदि चिकित्सकको तर्फबाट गल्ती भएको हो भने कानूनी प्रक्रियाबाट जान सकिन्छ यदि चिकित्सकको गल्ती भेटियो भने कारवाही होस् हाम्रो पनि माग छ ।’

यस्तै, अस्पतालका सर्जरी विभाका प्रमुख डा. सुनिल श्रेष्ठ बिरामी धितालको अप्रेशनका क्रममा अत्याधिक रक्तश्राव भएपछि मस्तिष्कले काम गर्न छोडेको बताउँछन् । ‘बिरामीको अप्रेशनका क्रममा नशा ड्यामेज भयो त्यसपछि उहाँलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ,’ उनले भने, ‘उहाँको मस्तिष्कले काम गरेको छैन त्यसैले उहाँ बचाउन सकिने सम्भावना कम नै छ ।’

धिताल पित्त थैलीको अप्रेशन गर्ने गत जेठ २७ गते अस्पतालमा भर्ना भएका थिए । भेन्टिलेटरमा उपचारत धितालका आफन्तहरुले भने चिकित्सकको लापरवाहीका कारण ज्यान जोखिममा परेको आरोप लगाउँदै आएका छन् ।

भिडियाे :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?