काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्षका कानुन व्यवसायीहरुको बहस जारी रहेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा कानुनव्यवसायीहरुले खाँणलाई ड्यामेज पार्न खोजिएको जिकिर गरेका छन् ।
बहसका क्रममा कानुन व्यवसायी वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा पैसा बुझेको भनिए पनि त्यसको प्रमाण केही नभएको जिकिर गरे । साथै उनले पार्टी सभापति हुन सक्ने मान्छेलाई सार्वजनिक जीवन समाप्त पार्नका लागि मुद्दा लगाइएको दाबी गरे ।
‘खाँणले पैसा बुझेको प्रमाण के छ ? सीसीसीटी फुटेको छ । सार्वजनिक जीवन समाप्त पार्नेगरी मुद्दा आएको छ ।’ घिमिरेले भने,
‘पार्टीको सभापति समेत बन्न सक्ने मान्छेलाई ड्यामेज पार्न खोजिएको छ । हचुवाको भरमा मुद्दा लगाइएको छ ।’
मंगलबारबाट खाँण पक्षका कानुन व्यवसायीहरुले बहस गरिरहेका छन् । अन्य प्रतिवादीको एकै दिन बहस सकिए पनि खाँण पक्षबाट धेरै कानुन व्यवसायीहरुले बहस गर्न लागेकाले आज पनि उनको पक्षका कानुन व्यवसायीहरुले बहस गरेका हुन् ।
त्यस्तै उनको पक्षबाट कानुन व्यवसायीहरु रमण श्रेष्ठ, सुरेन्द्र कुमार महतो, गोपालकृष्ण घिमिरे, ललितबहादुर बस्नेत, खम्बबहादुर खाती लगायतले बहस गरेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् भने अन्य १२ जना फरार रहेका छन् ।
यसअघि नै सरकारी वकिलहरुको बहस सकिइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया