काठमाडौं । काठमाडौंको जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचाररत सुवर्णकुमार धितालका आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । अस्पताल प्रशासनले बिरामीको बारेमा जानकारी नगराएको भन्दै आक्रोशित बनेका आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् ।
सिन्धुपाल्चोकस्थित पाँचपोखरी थाङपाङ गाउँपालिका–६ धापका धिताल ३ दिन अघि पित्त थैलीमा भएको पत्थरीको अप्रेशनका लागि अस्पताल आएका थिए । यद्यपि, बिरामीको अवस्थाका बारेमा बुझ्दा अस्पताल प्रशासनले जानकारी नगराएपछि आफन्तहरु तोडफोडमा उत्रिएको बिरामीका छिमेकी प्रकाश सापकोटाले लोकपथलाई जानकारी दिए ।
७२ वर्षीय धितालको सफल अप्रेशनपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइरहेको अस्पतालका मेडिकल इन्चार्ज दिलिपकुमार शाहले लोकपथलाई जानकारी दिए । ‘हामीले बिरामीको परिवारलाई उहाँको अवस्थाका बारेमा जानकारी गराएका छौँ,’ उनले भने, ‘बिरामीको अवस्था गम्भीर हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेका छ ।’
उसो त बिरामीका आफन्तले नियोजित रुपमा अस्पतालमाथि जाइलागेको शाहको आरोप छ । ‘हामीले बिरामीको बुहारीलाई लिखित रुपमै जानकारी गराएका छौँ,’ उनले भने, ‘तर, आफन्तहरु बिरामीको अवस्था नै नबुझी नियोजित रुपमा अस्पतालमाथि जाइलाग्नुभयो ।’
आक्रोशित बनेका बिरामीका आफन्तले अस्पतालको इमर्जेन्सी विभागमा क्षति पुर्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया