मधुपर्क साहित्यिक पत्रिकाको वार्षिकोत्सव मनाइयो

लोकपथ
0
Shares

काठमाडौं । गोरखापत्र संस्थानको साहित्यिक प्रकाशन मधुपर्क मासिक पत्रिकाको ५६औँ वार्षिकोत्सव आज विशेष कार्यक्रम गरी मनाइएको छ ।

वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित कार्यक्रममा वरिष्ठ कवि-तेस्रो आयामका नायक कवि वैरागी काइँलाले बदलिँदो विश्व राजनीतिसँगै साहित्यमा पनि परिवर्तन आएको उल्लेख गर्दै साहित्य भनेको जीवन जगत्को भोगाइ भएको विचार व्यक्त गरेका छन् ।

दोस्रो विश्व युद्धपछि विश्व दुई धुव्रीय भएको र त्यसपछि उठेको असंलग्न आन्दोलनले विश्व बहुधुव्रमा विभाजित भएको उल्लेख गर्दै उनले यसको प्रभाव साहित्य चिन्तन र यससँग सम्बन्धित क्रियाकलापमा पनि परेको धारणा व्यक्त गरेका छन् । वरिष्ठ कवि वैरागी काइँलाले आधुनिककालमा पुरानो पन्छाउने गरिएको बताउँदै पुरानोको छुट्टै महत्व हुने बताए ।

संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले मधुपर्क साहित्यिक पत्रिकामात्र नभएर साहित्यिक पाठशाला भएको जनाउँदै यसले साहित्यलाई पत्रकारितासँग जोड्ने काम गरेको बताए । संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले मधुपर्क नेपाली साहित्यको धरोहर भएको र यसले साहित्य तथा स्रष्टालाई जोड्ने काम गर्दै आएको बताए।

सो अवसरमा मधुपर्क सम्मान–२०८० (पद्य) बाट वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठ, मधुपर्क सम्मान–२०८० (गद्य) बाट वरिष्ठ कथाकार पुष्कर लोहनी र मधुपर्क प्रतिभा सम्मान–२०८० बाट कवि प्रभा भट्टराई आचार्यलाई सम्मान गरिएको थियो । कार्यक्रममा कथाकार लोहनी, कवि आचार्य, मधुपर्कका सम्पादक जयदेव भट्टराई, मधुपर्क स्रष्टा चयन समितिका संयोजक वरिष्ठ साहित्यकार गणेश रसिकले मधुपर्क र साहित्यका विषयमा चर्चा गरेका थिए भने सर्जक महेश पौडेलले सम्मानित व्यक्तित्वमाथि प्रकाश पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?