रमण श्रेष्ठको जिकिर : ‘पाण्डेलाई पक्राउ गर्दा ओलीको स्वकीयलाई किन मुद्दा चलाइएन ?’

लोकपथ
210
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणबारे काठमाडौं जिल्ला अदालतमा प्रतिवादीको तर्फबाट बहस जारी रहेको छ ।

गत मंगलबार सरकारी वकिलहरुको बहस सकिएसँगै बुधबारबाट प्रतिवादीतर्फबाट कानुन व्यवसायीहरुले बहस गरिरहेका छन् ।

आज सो प्रकरणका प्रतिवादी तत्कालिन गृहसचिव टेकनारायण पाण्डेको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले कसैको बयानकै आधारमा कसैलाई पक्राउ गर्न नहुने जिकिर गरे ।

त्यस्तै पाण्डेलाई केशव दुलालको बयानको आधारमा पक्राउ गरिएकोमा अन्य नाम लिइएका एमालेका अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, सचिवालय सदस्य अजयक्रान्ति शाक्यविरुद्ध मुद्दा नचलाइएको भन्दै प्रश्न गरे ।

‘कुनै पनि जाहेरीवालाले पाण्डेलाई पैसा दिएको प्रमाण छैन । केशव दुलालले दिएको बयानका आधारमा मात्रै मुद्दा चलाइयो । कसैले पैसा दिएँ भन्दैमा मुद्दा चल्दैन ।’ उनले भने, ‘केशव दुलालले बयानमा उल्लेख गरेको राजेश बज्राचार्य र अजयक्रान्ति शाक्यविरुद्ध किन मुद्दा चलेन ?’ कानुन त सबैलाई समान होला नि ?’

त्यस्तै निजामती सेवाका अधिकृत र सो भन्दा माथिका कर्मचारीलाई मुद्दा चलाउँदा लोकसेवा आयोगको परामर्श र सरकारबाट अनुमति लिनुपर्नेमा पाण्डेलाई पक्राउ गर्दा प्रक्रिया नपुर्याइएको जिकिर गरे ।

‘निजामती सेवाका अधिकृत र सोभन्दा माथिका कर्मचारीलाई मुद्दा चलाउँदा लोकसेवा आयोगको परामर्श र सरकारबाट अनुमति लिनुपर्ने हुन्छ । तर, त्यो अनुमति लिने प्रक्रिया पूरा भएको छैन’ उनले भने ।

त्यस्तै आजै अर्का प्रतिवादी नरेन्द्र केसीका तर्फबाट कानुन व्यवसायीहरुले बहस गरेका छन् ।

केसीका तर्फबाट केशरमणि अर्याल, लक्ष्मी थापा खड्का, पुरुषोत्तम अर्याल, देवेन्द्र बहादुर थापा, दामोदर अधिकारी र चिरञ्जीवी उपाध्यायले बहस गरेका हुन् ।

हालसम्म तत्कालिन गृहसचिव पाण्डेसहित सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरुङ, टोपबहादुर रायमाझी, सागर राई, सन्देश शर्मा, डा इन्द्रजित राई पक्षका कानुन व्यवसायीले बहस गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?