काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले यसअघि नै लगिएको भ्याट प्रणालीलाई थप सुदृढ बनाउन पहल गरिएको स्पष्ट पारेका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको छलफलमा उठेका सवालको जवाफ दिँदै अर्थमन्त्री महतले सो कुरा बताएका हुन् ।
भ्याट प्रणालीले नेपालमा राजस्वको दायरा वृद्धि गर्न समेत भूमिका खेलेको बताउँदै अहिले त्यसको प्रभावकारिता हुन नसकेको टिप्पणी गरे ।
संसदलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले उनका सदोहर दाई समेत रहेका पूर्व अर्थमन्त्री डा. रामशरण महतले त्यसलाई नेपालमा भित्राएको भन्दै प्रसंशा गरे । उनले नेपालमा मात्रै नभएर दक्षिण एशियामै पहिलो पटक नेपालमा त्यसको प्राक्टिस गरेको दाबी गरे ।
‘यसले (बजेट) ले चाँही भ्याट जुन संकुचन हुँदै थियो । त्यस कारणले राजस्वको दायरा बढ्दै गइरहेको थियो । हाम्रा आवश्यक्ताहरुलाई हामी आफैँले पनि फण्ड गर्न सक्छौँ भन्ने आत्मविश्वास देशमा बढ्दै गइरहेको थियो । म त्यो कुरा स्मरण गर्दा खुसी महसुस गर्दछु की, मेरै दाई रामशरण महत जुन बेला अर्थमन्त्री हुनुहुन्थ्यो । भ्याट (मूल्य अभिवृद्धि कर) दक्षिण एशियामै कहीँ थिएन । उहाँले नै त्यसलाई नेपालमा भित्राएर राजस्व वृद्धिमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । अहिले भारतमा जिएस्टी भनेर आयो । नेपालमा प्रवेश गराउँदाखेरी ठूलो विरोध भएको थियो । नेपालमा केही नयाँ हुँदा त्यसको ठूलो विरोध हुने गरेको छ । त्यो आउँदाखेरी हरेक शहरमा ठूलो जुलुसहरु उद्योग व्यवसायीहरुको जुलुस उत्रिएको छ । तर यो आवश्यक छ, यो वैज्ञानिक छ भनेर लागू गरिएको थियो । त्यसपछि त्यसले राम्रो प्रभाव दिन थाल्यो । तर अहिले हटाउन थालियो ।’ अर्थमन्त्री डा. महतले भने ।
त्यस्तै आफूहरुले भ्याटलाई थप प्रोत्साहन गरेको दाबी गरे ।
त्यसैगरी सांसद विकास पूर्वाधार कार्यक्रम संसदीय क्षेत्रलाई विकासका लागि ल्याइएको बताउँदै त्यसको विरोध नगर्न समेत आग्रह गरे ।
‘सांसद विकास पूर्वाधार कार्यक्रमलाई कोष कोष भनियो । त्यसलाई सांसदहरुको आफ्नो खल्तीमा राख्नका लागि विनियोजित गरेको भनेर चर्चा भयो । त्यो होइन । म स्पष्ट गर्न चाहान्छु । त्यो वास्तवमा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम हो ।’ उनले भने ।
त्यस्तै मधेश प्रदेशमा बजेट कम भएको भन्ने गुनासोमा कहि कतै बजेट कम नभएको स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया