बस्ती स्तरबाट योजना छनोट गर्दै स्थानीय तह

लोकपथ
7
Shares

मान्म । कालीकोटका नौ वटै स्थानीय तहले बस्तीस्तरबाट योजना छनोट गर्न थालेका छन् ।

आर्थिक वर्ष २०८०र८१ मा बस्तीस्तरबाट छनोट भएर आएका योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने उद्देश्यले यहाँका स्थानीय तह बस्तीस्तरका योजना छनोटमा जुटेका हुन् । असारको पहिलो साताभित्र बस्तीस्तरबाट आएका योजना छनोट गरेर असार १५ गते भित्र नीति तथा कार्यक्रम ल्याउने गरी सबै स्थानीय तहले काम गरिरहेका छन् ।

तिलागुफा नगरपालिकाले आगामी आव २०८०र८१ का लागि बस्तीस्तरको योजना छनोट गरेर असारको पहिलो साताभित्रै योजना छनोट गरिसकेको नगरप्रमुख शङ्करप्रसाद उपाध्यायले जानकारी दिएका छन् । “गतवर्ष प्राथमिकतामा परेर बजेटमा समावेश हुन नसकेका योजना, अगुवाले दिएका सुझावका आधारमा योजना छनोट गर्नेछौँ”, उनले भने । बस्तीस्तरबाट आएका योजना वडाबाट छनोट भएर गएपछि नगरपालिका शाखा, उपशाखामा छलफल गरी कार्यपालिका हुँदै सभामा बजेट तर्जुमा प्रक्रियामा जाने उनले बताए ।

बस्ती स्तरबाट आएका योजनामा समुदायको सहभागिता हुने, वास्तविक योजना निर्माण हुने, विवाद कम हुने भएकाले बजेट निर्माणमा नागरिक सहभागितालाई जोड दिइएको महावै गाउँपालिकाका अध्यक्ष उपप्रमुख खेमबहादुर सिंहले बताए । “स्थानीय आवश्यकताको पहिचान बस्तीका नागरिकले गर्ने भएकाले योजना तर्जुमामा पालिकाले बस्तीको सहभागिता बढाएको हो”, उनले भने । उनका अनुसार नागरिकको प्रत्यक्ष सहभागितामा आएका योजना विकासका दृष्टिले पनि बढी प्रभावकारी हुन्छन् ।

योजना छनोटका लागि स्थानीयस्तरबाट योजना खोज्नु आवश्यक पर्ने भन्दै योजनाका लागि बस्तीमा जाँदा स्थानीय आवश्यकता पहिचानमा मद्दत पुग्ने रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले बताए । “यसरी योजना छनोट गर्दा सबै क्षेत्रको समावेशी सहभागिता हुने भएकाले सबैले स्थानीय आवश्यकतालाई पालिकासँग दर्शाउनका लागि बस्तीस्तरमा पुगेर योजना छनोट गरिएका हुन्”, उनले भने । नागरिकका गुनासासमेत समेटिने भएको बजेट तर्जुमामा थप प्रभावकारी हुने उनको भनाइ थियो ।

योजना छनोटका क्रममा पूर्वाधार विकास, महिला सशक्तिकरण, युवाका विषय बजेटमा समावेश गर्नुपर्ने माग आएको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष महेश केसीले बताए । बस्तीबाट आएका मागलाई प्राथमिकीकरण गरी आवश्यकता अनुसार पालिका, प्रदेश र सङ्घीय सरकारमा पठाउने स्थानीय सरकारले पहल गर्ने उनको भनाइ छ । उनले भने, “नागरिकका मागलाई सम्बोधन गर्नु स्थानीय सरकारको दायित्व हो ।”

बस्तीस्तरबाट आएका योजना आगामी वर्षको कार्यक्रममा प्राथमिकतामा राख्ने शुभकालिका गाउँपालिका उपाध्यक्ष धर्मा शाहीले बताए । “हचुवाका भरमा छनोट हुने योजना रोक्न मद्दत गर्ने छ”, उनले भने, “स्थानीय तहको आवश्यकतामा आधारित बजेट बन्ने र स्थानीय स्रोत र साधनको समेत परिचालन हुनेछ ।”

बस्तीस्तर आएका योजनाले स्थानीय विकास, निर्माणका प्रभावकारी योजना बनाउन मद्दत पुगेको नहररिनाथ गाउँपालिकाका उपाध्यक्ष कमलबहादुर शाहले बताए । स्थानीयवासीले निःशुल्क स्वास्थ्य, शिक्षासँगै व्यवस्थित तथा सर्वसुलभ यातायात र सञ्चारसँगै उद्यमशीलतासहितको रोजगारको माग गरेका पचालझरना गाउँपालिकाका अध्यक्ष देवजङ्ग शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?