काठमाडौं । युरोपियन युनियनले नेपाल वायु सेवा कम्पनीलाई हवाई सुरक्षा चासोबाट हटाउनबाट अस्वीकार गरेको छ ।
युनियनको मोभिलिटि एण्ड ट्रान्सफर डिभिजनले नेपाल वायुसेवा निगमसहित नेपालमा दर्ता भएका अन्य वायुसेवा कम्पनीहरुलाई कालोसूचीबाट हटाउन अस्वीकार गरेको हो ।
इयुले हरेक ६–६ महिनामा हवाइ सुरक्षा चासो सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने गर्दछ । यसअघि मंसिरमा सार्वजनिक भएको प्रतिवेदनमा पनि नेपाल वायुसेवा निगमलाई कालोसूचीमै राखेको थियो । अहिले आएर नेपाली वायुसेवा कम्पनीहरुलाई इयुले कालोसूचीबाट हटाउने अपेक्षा गरिएकोमा पुनः हवाई सुरक्षाकै घेरामा राख्दै ईयुको आकाशमाथिको प्रतिबन्ध कायमै रहेको छ ।
नेपाली वायु सेवा कम्पनीको सुरक्षा अवस्था कमजोर हुनुको साथैं नेपालमा उड्डयन क्षेत्रको नियामक निकाय र सेवा प्रदायक निकायको रुपमा एउटै संस्थाले काम गरिरहेको भन्दै युरोपियन कमिसनले एक दशकदेखि कालोसूची कायमै राखेको हो ।
यता नेपाल नागरिक उड्डयन प्राधिकरणले उड्डयन क्षेत्र अपेक्षाभन्दा बढी सुधार गरिरहेको निष्कर्ष निकालिरहेको थियो । त्यसो त गत भदौमा युरोपियन कमिसनको प्रतिनिधिमण्डलको टोलीले नेपाल आइ नेपालको उड्डयन सुरक्षाका विषयमा अध्ययन गरेको थियो र केही सुधार भएको प्रतिक्रियापछि नेपाल इयूको कालोसूचीबाट हट्ने अपेक्षा गरिएको थियो ।
त्यसयता पनि नेपालमा पटकपटक हवाई दुर्घटना भइरहेको कारण नेपाल इयूको कालोसूचीबाट हट्न नसकेको अधिकारीहरु बताउँछन् ।
तर सरकारी पक्षबाट इयुसँग कुटनीतिक वार्ता गरी नेपाललाई इयुको कालोसूचीबाट हटाउन प्रयास जारी राखेको छ ।
युरोपियन युनियनले नेपाललाई सन् २०१३ देखि नै कालोसूचीमा राख्दै आएको छ। युरोपेली युनियन मातहतको एभिएशन सेप्टी एजेन्सीले सन् २०२२ अक्टोबरमा मिसन नेपाल पठाएर हवाई सुरक्षाबारे अध्ययन गरेको थियो।
कालोसूचीमा पर्दा नेपालमा दर्ता भएका वायुसेवा कम्पनीहरूको जहाज नेपालबाट युरोपेली मुलुकमा सिधा उडान गर्न पाएका छैनन्। यसको सबैभन्दा ठुलो मार नेपाल एयरलाइन्समा परेको छ । त्यसको प्रत्यक्ष असर नेपालको पर्यटन क्षेत्र परेको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया