काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले नेपाली काङ्ग्रेसका शीर्ष नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापित अस्पतालका बारेमा सदनमा काङ्ग्रेसले उठान गरेको चासो र चिन्ताका विषयमा आगामी बैठकमा जवाफ दिन सरकारलाई निर्देशन गरेका छन् ।
राष्ट्रियसभाको आजको दोस्रो बैठकमा उनले सो निर्देशन दिएका हुन् । काङ्ग्रेसले आफ्ना शीर्ष नेता द्वयका नाममा स्थापित अस्पताललाई सरकारले कुन निकायअन्तर्गत सञ्चालन गर्ने भन्ने कुनै निर्णय नगरेकामा आपत्ति जनाउँदै राष्ट्रियसभाको बैठक अवरुद्ध गर्दै आएको छ ।
आजको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृतसमेत गरेको थियो ।
बैठकपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सहमतिमा नै आएको सञ्चारकर्मीलाई बताए । उनले एउटा विश्वविद्यालयले पाँचभन्दा बढी चिकित्साशास्त्र अध्ययनको अनुमति दिइसकेको अवस्था रहेको बताउँदै आगामी दिनमा यसलाई विधेयकले व्यवस्थित गर्नेछ भने ।
काङ्ग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले आफ्नो पार्टीका सांसदले सदनमा उठान गरेका विषयवस्तुमा सरकार गम्भीर बन्न नसकेको आरोप लगाए ।
राष्ट्रियसभाको अर्को बैठक माघ १७ गते दिउँसो २ बजेको लागि बोलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया