‘आमासमूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन

लोकपथ
49
Shares

म्याग्दी । महिलालाई आत्मनिर्भर बनाउन म्याग्दीको बेनी नगरपालिकाले ‘आमासमूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन गरेको छ ।

आमासमूहलाई परिचालन गरेर महिलाको आर्थिक र सामाजिक सशक्तीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । महिलालाई आर्थिक रुपमा सक्षम, आत्मनिर्भर, स्वावलम्बी बनाउँदै सामाजिक रुपमा सशक्तीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताए । “समुदाय स्तरमा महिला सशक्तीकरण र सामाजिक कामको अगुवाइ गरिरहेका आमासमूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोत, साधन र सम्भावना भएको उद्यम व्यवसायी गरी आयआर्जनका काममा संलग्न गराउन खोजेका छौँ”, उनले भने ।

महिला आर्थिक रुपमा सक्षम भएमा हिंसा न्यूनीकरण हुनुका साथै रोजगारीको सिर्जना भई आत्मनिर्भर हुने भएकाले महिलालाई समाजमा अगाडि ल्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उपप्रमुख लामिछानेको भनाइ थियो । उनका अनुसार दुई वटा वडाका तीनरतीन वटा आमासमूहले आयआर्जन र सीपमूलक काम शुरु गरेका छन् । नगर उपप्रमुख लामिछानेको प्रस्तावमा कार्यपालिकाको पहिलो बैठकले उक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । चालु आर्थिक वर्षमा २० लाख विनियोजन भएकामा कार्यक्रमका लागि नगरपालिकाले वडा नं ३ र ९ लाई छनोट गरेको छ ।

बेनपा–३ को स्वर्गाश्रम, बेलढुङ्गा र मण्डली आमासमूहले स्थानीय जातका कुखुरापालन सुरु गरेका छन् । तीन वटा समूहमा आबद्ध ३५ जनालाई खोर निर्माणका लागि अनुदानका साथै कुखुरापालन सम्बन्धी तालिम र चल्ला वितरण गरिने वडा नं ३ का वडाध्यक्ष रत्न जिसीले बताए।वडा नं ९ को गलेश्वर आमा समूहमा आबद्ध २० जना महिलाहरुका लागि शुक्रबारदेखि चप्पल बनाउने तालिम शुरु भएको छ । नेप्टेचौरमा ढालमोड, नेमकिन र तोरीपानीमा आलुको चिप्स बनाउने तालिम शनिबारदेखि शुरु भएको वडाअध्यक्ष चक्र केसीले बताए ।

“सामाजिक समस्याका रुपमा देखिएको लागुऔषध दुव्र्यसनी न्यूनीकरणका लागि टोलस्तरमा सचेतनामूलक कार्यक्रम गरिएको छ । घतानका १७ आमा समूहलाई तीन वटा समूहको कार्यक्रममा आबद्ध गराएका छौँ”, उनले भने । तालिममा सहभागी महिलालाई व्यवसाय गर्न कच्चापदार्थ, सामग्री र औजार सहयोग गर्नुका साथै बजारीकरणमा सघाउने नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?