सबै गाडीलाई बसपार्क छिराउने बालेनको निर्णय कति व्यवहारिक ?

लोकपथ
32.7k
Shares

काठमाडौं भित्रिने र बाहिरिने लामो, मध्यम र छोटो दुरीका सम्पूर्ण सवारीसाधनहरु गोंगबुस्थित नयाँ बसपार्कभित्र लैजानु पर्ने, यात्रु चढ्न र ओर्लन बसपार्क नै पुग्नु पर्ने, टिकट बुकिङ काउण्टर बसपार्क भित्रै लैजानु पर्ने बसपार्क बाहेक अन्यन्त्र टिकट काट्न नपाइने विषयमा काठमाडौं महानगरपालिकाले निर्णय गरेको छ ।

२०८० वैशाख २९ गते काठमाडौंका मेयर बालेन्द्र शाहको उपस्थितिमा र जेठ १४ गते महानगरका ट्राफिक विज्ञ जगतमान श्रेष्ठको उपस्थितिमा भएका निर्णयहरु असार १ गतेदेखि अनिवार्य कार्यान्वयन गर्ने भन्दै जेठ १९ गते महानगरले सूचना प्रकाशित गरेको छ ।

निर्णयले यात्रुलाई असुविधा हुने, काठमाडौंमा ट्राफिक समस्या बढ्ने, यातायात व्यवसायीलाई सास्ती हुने र श्रमिकहरुको रोजीरोटी खोसिने जनाउदै निर्णय र सूचना सच्याउन सरोकारवालाहरुले महानगरलाई भनेको छ ।

महानगरका मेयर बालेन्द्र साहले निर्णय सच्याउँछन् या सच्याउँदैनन् त्यो उनको विषय हो तर, निर्णय कार्यान्यन गर्न भने सजिलो छैन । यदी आफ्नो अडानबाट तलमाथि नहुने हो भने सेलिब्रेटी मेयर बालेन्द्र शाहको लोकप्रियताको ओरालो यात्रा यही निर्णयले तय गरिदिने पक्का छ ।

बसपार्कको क्षमता र सवारीसाधन

सैद्धान्तिक रुपमा बसपार्कमा सवारीसाधनहरु जानु पर्छ, यात्रुहरु बसपार्कबाटै यात्रा गर्नु पर्छ भन्ने विषयलाई नराम्रो भन्न मिल्दैन । तर, नयाँ बसपार्कको पार्किङ क्षमता ७ सय सवारीसाधन मात्रै हो । महानगरको निर्णय अनुसार लामो, मध्यम र छोटो दुरीमा चल्ने सबै सवारीसाधनहरु बसपार्क भित्र्याउँने हो भने पार्किङ गर्ने विषय परको कुरो, पिक एण्ड ड्रप मात्रै गर्न पनि नयाँ बसपार्कले धान्न सक्दैन । सामान्यतया बीपी राजमार्ग भएर पूर्व चल्ने सवारीसाधनहरु करिव २ हजार, पूर्व अरनिको यातायात प्रालिका करिव ६ सय, पूर्व चल्ने रात्री तथा दिवासेवा करिव २ सय बल्खुबाट तराइ चल्ने सुमो करिव ८ सय, पनौति, धुलिखेल करिव ४ सय, पृथ्वी राजमार्ग चल्ने करिव ४ सय, पश्चिम चल्ने करिव ७ सय, पासाङल्हामु राजमार्गमा चल्ने करिव २ सय गर्दा करिव करिव ५ हजार सवारीसाधनहरु हुन आउँछ ।
बसपार्कको विस्तार र व्यवस्थापन नगरि यही अवस्थामा सबै सवारीसाधनहरु बसपार्क जानैपर्छ भन्नु व्यवहारिक हुँदैन । झोलामा हात्ती हाल्छु भन्नु जस्तै मात्रै हो ।

सर्वसाधारणलाई असुविधा र आर्थिक भार

सार्वजनिक सवारीसाधनबाट दैनिक काठमाडौं छाड्ने यात्रुहरुको संख्या करिव ७५ हजार हुन आउँछ र भित्रिनेको संख्या पनि सोही अनुपातमा हुने अनुमान गर्न सकिन्छ । निर्णय अनुसार ति यात्रुहरु उपत्यका जुनसुकै स्थानको भएपनि टिकट काट्न बसपार्क पुग्नु पर्नेहुन्छ । सवारीसाधन चढ्न बसपार्क पुग्नु पर्नेहुन्छ । ओर्लिन बसपार्क नै पुग्नु पर्नेहुन्छ ।
अर्थात कोटेश्वरबासी नागरिक बीपी राजमार्गहुँदै पूर्व जानु पर्यो भने टिकट काट्न बसपार्क पुग्नु पर्यो, बस चढ्न बसपार्क नै पुग्नु पर्ने र फर्किदा बसपार्कमै ओर्लिएर कोटेश्वर फर्किनु पर्ने । कलंकीका यात्रुको दुर्दशा पनि उस्तै हो । यसले हजारौँ सर्वसाधारण जनतालाई समस्यामा पार्नेछ । सार्वजनिक सवारीसाधन गरिब जनताका साधन हुन् । यो निर्णयले यात्रुलाई हैरानी हुनेछ भने समयको बर्बादी र आर्थिक भार पनि बढाउने छ ।

ट्राफिक समस्या र कोलाहलमय बसपार्क

कोटेश्वर, गौशाला, चावहिल, सुकेधारा, सातदोबाटोले धानिरहेको बीपी राजमार्गबाट पूर्व जाने सवारीसाधनहरु करिव २ हजार सवारीसाधनहरु पूर्व अरनिको यातायात प्रालिका करिव ६ सय, पूर्व चल्ने रात्री तथा दिवासेवा करिव २ सय बल्खुबाट तराइ चल्ने सुमो करिव ८ सय, पनौति, धुलिखेल करिव ४ सय सवारीसाधनहरु करिव १० देखि १४ किलोमिटर चक्रपथ घुमेर बसपार्क जानुपर्दा यसको असर उपत्यकाका सडकमा प्रत्येक्ष पर्ने निश्चित छ । यो निर्णय गर्दा महानगरले ट्राफिक व्यवस्थापनका लागि भनिएको छ । तर चक्रपथ मात्रै होइन काठमाडौं उपत्यकाका सबै सडक ट्राफिक समस्याले तहसनहस बन्नेछ ।

बसपार्क बसपार्क जस्तो होइन अव्यवस्थित बजार जस्तो कोलाहलमय अवस्था बन्ने छ । हजारौँ यात्रुहरु गणतव्यका लागि सवारीसाधनको खोजीमा भौतारिनु पर्ने समस्या नियमित प्रकृया जस्तै हुनेछ । यात्रु, श्रमिक तथा सवारीसाधनहरु असुरक्षित हुने अवस्था निर्माण हुनेछ ।

टिकट काउण्टर व्यवस्थित गर्नुपर्छ हटाउने होइन

बसपार्क बाहेक अन्यन्त्र टिकट काट्न नपाइने, कोटेश्वर, कलंकी, गौशाला, चावहिल, बल्खु, जोरपाटी लगायतका स्थानका बुकिङ काउण्टर बसपार्क भित्रै लैजानु पर्ने निर्णय अव्यवहारिक छ । यो निर्णयले हवाइ जहाज चढ्न विमानस्थलमै गएर टिकट काट्नुपर्छ बाहिरको ट्राभलमा काट्न पाइदैन भन्ने सन्देश दिएको छ । यसको असर सबै भन्दा धेरै सर्वसाधारण यात्रुलाई पर्छ । विभिन्न प्रालिद्धारा चक्रपथ आसपास रहेका ३ सय टिकट काउण्टर र त्यहाँ काम गर्ने करिव १ हजार ५ सय श्रमिकहरुको रोजीरोटी खोसिन्छ । हटाउने होइन काउण्टर सञ्चालनलाई व्यवस्थित गर्नुपर्छ ।

कानुन अनुसार दर्ता भएका यातायात कम्पनीहरुले मात्रै काउण्टर सञ्चालन गर्ने, एक कम्पनी एक काउण्टर, एक काउण्टर एक टिकट नीति बनाउँने, काउण्टरमा एउटै र, र साइजको बोर्ड राख्ने, श्रमिकको पहिचान खुल्ने परिचयपत्र तथा पोशाक लगाएर मात्रै काउण्टरमा काम गर्ने, काउण्टरमा गणतव्य स्थानको मात्रै नाम लेख्ने, यात्रुहरुले देख्ने गरी भाडा दररेटको सूचि राख्ने, संख्या किटान गरेर काउण्टर नम्बर लेख्ने, बस छुट्ने समय यात्रु आइपुग्नु पर्ने समय बोर्डमा लेख्ने, यात्रुलाई मेसेज गर्ने, अशक्त, असहाय, अपाङ्गता भएका, जेष्ठ नागरिक, बालबालिका र महिलामैत्री हुने, यात्रुहरुको गुनासा तथा सुझावका लागि काउण्टरमा सुझाव पेटिका राख्ने, प्रशासनिक सहायताका लागि प्रहरीको टोलफ्रि नम्बर काउण्टरमा राख्ने र जनसरोकारका विषयमा प्रशासन तथा सरोकारवालाहरु सहित सबैको सहभागीतामा समस्याहरुको समाधान गर्ने गरी काउण्टरहरुलाई व्यवस्थित गर्नु पर्दछ ।

वैकल्पिक बसपार्क तयारी थालौँ

नयाँ बसपार्क अपायक स्थानमा छ । यो बसपार्क कुनैपनि दृष्टिकोणबाट उपयुक्त स्थानमा छैन । काठमाडौं भित्रिने र बाहिरिने मुख्य नाका कोटेश्वर, कलंकी, बल्खु हो । बसपार्कहरु शहर प्रवेश नाका आसपास हुनुपर्दछ । शहर भित्रिने र बाहिरिने सवारीसाधनहरु सकेसम्म शहर पार गर्नु नपरोस् । तर, नयाँ बसपार्क मुख्य नाकाको ठिक विपरित ध्रुवमा अवस्थित छ ।

कलंकी नाकाबाट बसपार्क करिव ८ किलोमिटर दुरी, बल्खु नाकाबाट करिव १० किलोमिटर दुरी र कोटेश्वर नाकाबाट करिव १४ किलोमिटर दुरीमा रहेकोछ । महानगरपालिकाले नयाँ बसपार्कको विकल्प तयार गर्दै जानु पर्दछ । पश्चिमबाट काठमाण्डौं प्रवेश गर्ने सवारीसाधनका लागि नागढुङ्गा नाका आसपासमा बसपार्क व्यवस्था गर्नु पर्दछ, पूर्वबाट काठमाण्डौं प्रवेश गर्ने सवारीसाधनहरुका लागि कोटेश्वरदेखि सल्लाघारी आसपासमा बसपार्क व्यवस्था गर्नु पर्छ ।

त्यस्तै दक्षिणकाली नाकाबाट काठमाडौं प्रवेश गर्ने सवारीसाधनहरुका लागि बल्खुदेखि चौभार आसपास बसपार्कको व्यवस्था गर्नु पर्दछ । सांखु, नाङ्लेभारे नाका लागि जोरपाटी आसपास बसपार्क बनाइनु पर्दछ । हाल रहेको नयाँ बसपार्कलाई नुवाकोट, रसुवा नाका तथा सिटी बसपार्कको रुपमा व्यवस्थित गर्नु उपयुक्त हुनेछ ।

निर्णय र प्रभाव

निर्णय आम सर्वसाधारण, श्रमिक र व्यवसायीहरुको अहितमा छ, स्वयम महानगर र बसपार्क सञ्चालन गरिरहेको लोत्सेको पनि अहितमा छ भन्ने महानगरपालिकालाई पनि अवगत छ । यदी अवगत थिएन भनेपनि यो स्तम्भकार सहितका सरोकारवालाहरुले भेटेर अवगत गराइसकेपछि जानकारी नहुने कुरै भएन । तर, महानगर आफ्नो निर्णय सच्याउन किन तयार छैन । र विवादित निर्णय कार्यान्वयनमा महानगर अडिग छ । व्यवस्थापनको आवरणमा रचिएको यस कथाको अन्तरवस्तु लोत्सेले संकलन गर्ने पार्किङशूल्क र काउण्टर भाडाको आयसँग जोडिएको अनुमान सबैले गरेका छन् । एउटा कम्पनीको स्वार्थसँग महानगरले यति गम्भिर निर्णय कसरी गर्ला र ? तर, निर्णय कार्यान्वयनमा लोत्सेलाई पनि सहज भने छैन । बसपार्कको क्षमता वृद्धि र थप संरचनागत परिवर्तन बिना यही अवस्थामा यो बसपार्क व्यवस्थित हुनै सक्दैन ।
अन्त्यमायी विषयहरु सार्वजनिक सरोकारका विषय हुन् । महानगरपालिका यो महत्वपूर्ण विषयमा गम्भिर र जिम्मेवार हुनु पर्दछ । वैकल्पिक बसपार्क सञ्चालन, टिकट काउण्टर व्यवस्थापन र यात्रुमैत्री बनाउने विषयमा महानगरले मापदण्ड बनाउनु पर्छ र व्यवसायी र श्रमिकले इमान्दार पालना गर्नुपर्छ । तर, असरहरु बारे अध्धयन र सरोकारवालाहरुसंग पर्याप्त छलफल नगरी गरिएको निर्णय कार्यान्वयनमुखी हुँदैन, यसले विवाद ल्याउँछ, सडकमा द्धन्द्ध निम्त्याउँछ । सरकारले नागरिकको आवाज सुन्नु पर्छ । सरोकारवालाहरुलाई साथसाथै लिएर समृद्ध र सुन्दर शहर बनाउन लाग्नु पर्छ ।

(राई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?