अर्थमन्त्री डा. महत भन्छन्– ‘बजेटमा कनिके प्रवृत्ति रोक्न सकिएन, वडाध्यक्षहरु नै बजेट माग्दै आउँछन्’

लोकपथ
208
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले यसअघिको जस्तो कनिका छरेको जस्तो पैसा छर्ने प्रवृत्तिलाई पूर्ण रुपमा निषेध गर्न नसकेको बताएका छन् ।

आज राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले सरकारले ठूला साइजका आयोजनाहरुलाई मात्रै बजेट छुट्टयाउने तयारी गरे पनि त्यसो हुन नसकेको स्वीकार गरे ।

स्थानीय तहका जनप्रतिनिधिहरु नै आफ्नो वडामा बजेट पुगेन भनेर आउने गरेको बताए ।

‘कनिका छरेको जस्तो गरी पैसा राख्ने, विनियोजन गर्ने प्रवृत्ति छ । त्यसलाई मैले बजेटमै स्वीकार गरेको छु । यसपाला पनि त्यसलाई पूर्ण रुपमा सम्बोधन गर्न सकेका छैनौं ।’ उनले भने, ‘केन्द्र सरकारले महत्वपूर्ण आयोजनामा एउटा साइजको आयोजनामा केन्द्रित हुन सकौं भनेर चाहेकै हो । तथापि अहिले पनि जनताहरु यहीँ आइपुगे । त्यो प्रवृति रोकिएको छैन । यहाँँकोले पुगेन, वडाअध्यक्षज्युहरु आइराख्नुभएको छ । मेरो वडामा यतिले पुग्दै पुगेन के हुन्छ र यहाँबाट राखिदिन प¥यो भनेर ।’

त्यस्तै बजेटमा धेरै आयोजनाहरु दबावमा परेरै राख्नुपरेको बताए ।

अर्थमन्त्री महतले भने, ‘भौत्तिक योजनामन्त्री यहीँ हुनुहुन्छ । उहाँलाई पनि मैले भने यसो गरौं न भन्दा यत्रो ठूलो दबाव छ । केही न केही राख्नुपर्ने अवस्था आइपर्यो भनेर उहाँको पनि वाध्यता अप्ठ्यारो मैले बुझेँ ।’

त्यसैगरी आफूले योजनालाई प्राथमिकीकरण गर्ने कामको शुरुवात गरेको बताउँदै धेरै योजनाहरु भविष्यका लागि राखिदिन आग्रह आएकाले पनि राखिदिएको बताए ।

‘अहिले राखिदिउ न, पछि अर्को वर्ष होला नि । कमसेकम त्यहाँ नाम आयो भने पछि बढाउन सकिएला । पछि विनियोजन होला । पछि केही न केही उपाय होला साथीहरुको त्यो खाले दबाव छ । ‘त्यसकारण स्वीकार गरेको छु, ‘हामीले अझै संघीय सरकारले के गर्ने हो ? कसरी प्राथमिकिीकरण गर्ने हो त्यो गर्नसकेका छैनौं । तर, सुधारको सुरुवात गरेका छौं ।’ अर्थमन्त्री डा. महतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?