काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्दै छ । सोमवार मध्यान्ह ११ बजे नयाँ वानेश्वरस्थित संसद भवनमा बस्ने राष्ट्रियसभा बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पास हुँदैछ ।
गत सोमवार मध्यान्ह ११ बजेको लागि बोलाइएको राष्ट्रियसभा बैठक शुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण बैठक एक साताका लागि स्थगित भएको थियो ।
कांग्रेस सांसदहरुले जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र शुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई अबिलम्ब केन्द्र सरकार मातहत राख्न माग गर्दै बैठक अवरुद्ध गरेको थियो ।
कांग्रेसका अवरोधकाबीच गत शुक्रवार प्रतिनिधिसभाबाट पास भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आज राष्ट्रियसभामा पेश हुन लागेको हो ।
यता कांग्रेसले भने बैठक अवरोध गर्ने तयारी गरेको छ ।
यसअघि ११ माघमा प्रतिनिधिसभाले कांग्रेस सांसदको अवरोधकाबीच चिकित्सा शिक्षा विधेयक पास गरेको थियो ।
२० औँ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग सरकारले १५ औँ अनसनका क्रममा गरेका सहमति र सम्झौताका विषयहरु विधेयकमा नसमेटिएको र आफ्ना नेताहरुका नाममा खोलिएका अस्पतालहरु सरकारले विघटन गर्न खोजेको भन्दै कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया