प्रचण्ड र बाबुरामविरुद्ध बालसेनाले दायर गरेको रिट दर्ता गर्न सर्वोच्चको आदेश

लोकपथ
533
Shares

काठमाडौं । सर्वोच्च अदालतले माओवादी द्धन्द्ध कालमा बालसेनाको रुपमा प्रयोग गरेर युद्ध अपराध गरेको दाबी गरिएको रिट दर्ता गर्न आदेश दिएको छ ।

तत्कालिन समयमा बालसेना रहेका लेनिन विष्टसहितले वर्तमान प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र द्धन्द कालका अर्का कमाण्डर डा. बाबुराम भट्टराईविरुद्ध रिट दर्ता गर्न सर्वोच्चले आदेश दिएको हो ।

अहिले दर्ता प्रक्रिया पूरा भइसकेको र केहीबेरमा त्यसको आदेश आउने सर्वोच्चका प्रवक्ता विमल पौडेलले लोकपथलाई जानकारी दिए ।

‘दर्ता प्रक्रिया हुँदैछ । केहीबेरमा त्यसको आदेश आउँछ ।’ उनले लोकपथसँग भने ।

यसअघि गत जेठ १६ गते दरपीठ भएको उक्त रिट खारेज गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईले उक्त रिट दर्ता गर्न आदेश दिएका हुन् ।

यसअघि जेठ १२ गते नै विष्टसहित ९ जना बालसेनाले प्रचण्ड र बाबुरामविरुद्ध रिट दर्ता गर्न सर्वोच्च पुगेका थिए ।
त्यसबेला सर्वोच्चले द्धन्द्धकालिन विषयलाई संक्रमणकालिन न्यायसँग जोड्दै सत्य निरुपण तथा मेलमिलाप आयोगले हेर्नुपर्ने भन्दै दरपिठ गरिदिएको थियो ।

रिट दायर गर्ने बालसेनामा विष्टसहित कृष्णप्रसाद दंगाल, परमेश्वर खड्का, शोभा पराजुली खेमबहादुर राई, तुलसी नेपाल र मदन राई लगायत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?