बाङखुवा खोलामा पक्की पुल बनेपछि स्थानीयलाई सहज

लोकपथ
0
Shares

भोजपुर । षडानन्द नगरपालिकामा पर्ने याकुवा खोला र नखुवा दोभान बाङखुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ ।

कोशी प्रदेश सरकारको तीन करोड १९ लाखको लागतमा गत फागुनमा पुल निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

वडा नं १२ र १४ जोड्ने यो खोलामा २०७६ सालबाट पुल निर्माण सुरु गरिएको थियो । पुल तोकिएको मापदण्डानुसार निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख राजेश्वर महतोले बताए । “बाङखुवा खोलामा पुल निर्माण सम्पन्न भएको छ”, प्रमुख महतोले भने, “तोकिएको मापदण्डानुसार गुणस्तरीय ढङ्गले निर्माण भएको छ, यसले स्थानीय जनतालाई प्रत्यक्ष लाभ पुगेको छ ।” पच्चीस मिटर लामो उक्त पुल गोल्डेन गुड शेर्पा निर्माण कम्पनीले बनाएको कार्यालयले जनाएको छ ।

त्यस्तै सोही स्थान जनिकै बनिरहेको याकुवा खोला, नखुवा दोभान गङ्खुवा पुलको पनि ८० प्रतिशत काम सम्पन्न भएको छ । उक्त पुल प्रदेश सरकारको पाँच करोड ४१ लाख लागतमा निर्माण भइरहेको प्रमुख महतो बताए । पचास मिटर लम्बाइ रहेको दुई स्पानमा बन्ने पुलको एउटा स्पानको ढलान सम्पन्न भएको महतोको भनाइ छ । “यी दुई पुलको काम एउटै निर्माण कम्पनीले गरिरहेको छ”, उनले भने, “यो पुलको पनि ८० प्रतिशत काम सम्पन्न भएको छ, आगामी असोज महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ ।” अरुण गाउँपालिका क्षेत्रमा जग्गा विवाद भएको कारण काममा केही ढिला भएको उनले बताए ।

गङ्खुवा खोला पुल तोकिएको अवधिमा सम्पन्न गर्ने निर्माण कम्पनी गोल्डेन गुड शेर्पाका प्रोजेन्ट म्यानेजर पेम्बा शेर्पाले बताए । पुल आगमी असोजसम्म सम्पन्न गर्ने निर्माण कम्पनीको दाबी छ । “यो पुललाई तोकिएको अवधिभित्रै सम्पन्न गर्ने लक्ष्य छ”, शेर्पाले भने, “आगामी असोजसम्म सम्पन्न गर्ने हाम्रो योजना छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?