‘अब विभेद गर्नेहरुको शरीरमा भएको रोगसँग जुध्नेछु’– डा. रामजी राम (भिडियोसहित)

लोकपथ
91
Shares

काठमाडाैं । गरिबी, जातीय विभेद अनि समाज र राज्यसँगको पौठेजोरीसँग जुध्दै सपना पुरा गरेका व्यक्ति हुन्, डा. रामजी राम चमार । उनले हालै नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक लाइसेन्स परीक्षा उत्तिर्ण गरेका छन् ।

रौतहटको गढीमाईमा जन्मिएका रामजी रामले वीरगञ्जस्थित नेशनल मेडिकल कलेजबाट एमबीबीएस अध्ययन पूरा गरेका थिए । सरकारी छात्रवृत्तिमा अध्ययन गरेका रामजी रामले एमबीबीएस अध्ययनका क्रममा पनि आर्थिक समस्याका कारण थुप्रै हैरानी व्यहोरे ।

कलेजको शूल्क तिर्न नसकेपछि परीक्षा हलबाटै गलहत्याइएको अनुभव उनीसँग छ । उनलाई कलेजले एमबीबीएस चौंथो वर्षको परीक्षाका बेला कलेजमा शुल्क नबुझाएको भन्दै परीक्षा हलबाट निकालेको थियो ।

त्यतिबेला कलेजको सर्वत्र विरोधसमेत भएको थियो । साथै, रामजी रामले न्यायका लागि मेडिकल काउन्सिलदेखि न्यायालयसम्मको ढोका ढक्ढक्याए ।

यही क्रममा उनले सहयोग हातहरुसमेत फेला परे । तिनै सहयोगी मनहरुको साथले गर्दा नै आफूले एमबीबीएस सम्मको अध्ययन पूरा गरेको रामजी राम बताउँछन् ।

चमार समुदायमा जन्मिएका रामजी रामले विद्यालयदेखि विश्वविद्यालयसम्म विभेदको सामना गर्नुपर्यो । तर, उनी त्यो विभेद र दमनबाट माथि उठ्न चाहन्थे । अनि चमार समुदाय सरसफाई र मरेका गाईबस्तु (सिनो) व्यवस्थापन गर्ने कामबाट माथि उठ्नुपर्छ भन्ने उनलाई लाग्थ्यो । तर, के गर्नु गरिबी र आर्थिक अभाव उनकै अगाडि तेर्सिन्थ्यो । उनले हिम्मत भने कहिल्यै हारेनन् ।

यी सबै बाधा अड्चनलाई पन्छाउँदै रामजी राम रौतहट जिल्लाकै चमार समुदायबाट पहिलो डाक्टर बनेका छन् । अब उनले दुईवर्ष नेपाल सरकारको अस्पतालमा सेवा गर्नेछन् । त्यसपछि भने उनको मनोचिकित्सक बन्ने सपना छ । ‘मनको डाक्टर मेरो रुचिको विषय हो,’ रामजी राम भन्छन्, ‘हिजो विभेदसँग जुधेँ अब विभेद गर्नेहरुको शरीरमा भएको रोगसँग जुध्नेछु ।’

कुराकानीका क्रममा रामजी राम विगत सम्झँदै भन्छन्, ‘हिजो मैले छोएको पानी नखानेहरुलाई यही हातले औषधि खुवाउन मन छ ।’

विस्तृत भिडियोमा :  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?