…त्यो यात्रा !


लोकपथ
प्रकाशित मिति : १३ माघ २०७५, आईतवार १०:२४

 –भानु दाहाल

‘तिमी पनि यसैगरी विदेश जाने कहिले हो त ?’ एयरपोर्टबाट फर्किदै गर्दा उनले सोधिन् । 

‘प्रतिक्षा गर न, त्यो दिन पनि आईहाल्छ नि ।’ मैले जिस्किदै भनेँ । 

लण्डन जान लागेको हामी सँगै मास्टर्स पढेको साथीलाई त्रिभुवन विमानस्थलबाट विदाई गरेर फर्किदै गर्दा यो कुराकानी भएको पनि दुई बर्ष वितिसकेछ ।

यतिका दिन सम्म पनि उनलाई प्रतिक्षा गराएको दिन भने आएन । बरु उनी नै त्यसको एकबर्ष पछि विहे गरेर अष्ट्रेलिया गईन् । उनी जाने दिन विदाई गर्न उसैगरी एयरपोर्ट पुगेँ । 

छुट्टिने वेलामा सोधिन् ‘अव उतै भेट हुने कहिले हो ?’ 

मैले जवाफ दिन खोज्दा खोज्दै उनैले भनिन् ‘प्रतिक्षा गर न, त्यो दिन पनि आईहाल्छ नि । तिम्रो रेडिमेड जवाफ यहि त हो ।’ हामी हाँस्यौँ ।

उनी विदेश जान लागेकोमा उत्साहित देखिन्थिन् ।

केहि बेरमा उनीहरुको जोडी प्रस्थान कक्षतिर लाग्यो ।

जाँदैगर्दा सिसा भित्रबाट देखिन्जेल सम्म नै विदाईको हात हल्लाईरहिन् । र, अन्तिममा एउटा फ्लाईङ किस दिएर ओझेल परिन् ।

***

कलेज जीवनको उनी सँगको लामो मित्रताको फ्ल्यासव्याकले मेरो मथलिंग हल्लाइदियो । त्यँहि सिसा अगाडी ठिगँ उभिएको उभिएै भएछु । केहीबेरमा छेउकै कफी सपमा छिरेँ ।

‘ह्याभ अ सेफ फ्लाइट, गुडवाई’ लेखेको टेक्स्ट उनको सेलमा पठाईदिएर एक कप स्ट्रङ व्ल्याक कफी पिएर म फर्किएँ ।  

निधारमा रातो टिका, गलामा सयपत्रीको माला लगाएर सुट्केस डोर्याउँदै कोही एयरपोर्ट छिरेको पल उनलाई खुव रोमान्चक लाग्थ्यो ।

उनको पनि एकदिन त्यसैगरी विदेशिने सपना थियो ।

कति पटक त मलाई डिपेन्डेन्टमा अष्ट्रेलिया जाउँ भनेर कर गरेकी पनि थिईन् ।

म अनेक वहाना गरेर टारिरहन्थे ।

त्यो दिन भने उनको त्यो सपना पुरा हुदै थियो, तर अरु कोही सँग ।

बाहिरबाट झट्ट देखे जस्तो त्यो रोमान्चकता उनले अनुभव गरिन् वा गरिनन् थाहा छैन ।

बखान सुने जस्तो विदेश वास्तविकतामा भेटिन् कि भेटिनन् त्यो पनि थाहा छैन । 

म सँग पढ्ने अधिकांश साथीहरु पढाईको निहुँमा विदेश सिफ्ट हुन चाहन्थे, म त्यसको ठिक अपोजिट थिएँ ।

यहि विषयमा कलेज लाईफका कति चिसा विहानीहरुमा चियाचना खाँदै गर्दा हाम्रो गरमागरम वहस नभएका होईनन् ।

वहसमा म आफ्नै देशमा बस्नु पर्छ भन्ने पक्षमा आफ्नो मत सकेसम्म जोडतोडले राख्थेँ ।

उनीहरु विदेशिनु पर्छ भन्ने मत उसैगरी राख्थे । तर निष्कर्ष न उनीहरुको पक्षमा निस्किन्थ्यो न त मेरो पक्षमा ।

त्यो अन्त्यहिन वहस थेसिस नसकेसम्मको भेटमा प्राय चलिनै रह्यो । तथापी, मलाई विदेश घुम्न जान चाँही खुव रहर थियो ।

समुन्द्र नभएको देशमा जन्मिएर होला समुन्द्रको आर्कषणले सधै आर्कषित गरिरहन्थ्यो । कम्तीमा एक पटक भएपनि समुन्द्रलाई म नजिकबाट नियाल्न भने चाहन्थेँ । 

त्यो रहरलाई पुरा गर्न पचहत्तर सालको कार्तिक अन्तिम हप्ता सम्मै कुर्नुपर्यो ।

***

तिन दिनको ट्रेनिङ्को लागी अफिसमा बैंकक जाने अवसर आए सँगै थप पाँच दिन घुम्ने योजना बनाईसकेको थिएँ ।

थाईल्याण्डको पर्यटन आर्कषणका किस्साहरु सुनेको, पढेको आधारमा दिमागमा एक खालको चित्र बनेको थियो ।

त्यसको अनुभुती गर्न पाउँने रोमान्चकता एउटा थियो भने अर्को चाँही समुन्द्र सँगको साक्षात भेट नै थियो । 

‘प्रतिक्षा गर न, त्यो दिन पनि आईहाल्छ नि ।’ भनेर त्यो वेला उनलाई प्रतिक्षा गराएको दिन नजिकै आउँदै थियो ।

तर अव यसको महत्व उनको जीवनमा त्यति ठुलो हुने थिएन । त्यसैले उनलाई यो खबर सुनाउँनु पर्छ भन्ने जाँगर ममा चलेन ।

पछि मेरो सामाजिक संजालमा भएको अपडेटमा उनले देखिन् नै होला सायद ।       

***
भर्खरै झिलिमिली तिहारलाई विदाई गरेर वेहुली अन्माएपछिको घर जस्तो चकमन्न हुदैँ थियो राजधानी ।

बर्षको एक चौथाई समय ठण्डियामले राज गर्ने काठमाण्डौमा एकाविहानै झ्यालको चेपबाट छिर्ने चिसो सिरेटोले अव जाडो सुरु हुन लाग्यो है भन्ने संकेत गर्दै थियो ।

एक विहान सदा भन्दा अलि अघि नै निन्द्रा खुल्यो ।

उत्साहित हुदैँ जुरुक्क उठेँ ।

अरुदिन भए हत्तपत्त न्यानो ओछ्यान छोड्न सकस नै पथ्र्यो ।

कलेज जीवनका कयौँ चिसा विहानीहरुमा जबर्रजस्ती उठ्नु पर्ने बाध्यता हटेपछि काम नै परे बाहेक यो ज्यानले छिट्टै उठ्ने जाँगर कहिल्यै देखाएन । तर, आज त्यस्तो पटक्कै थिएन ।

केही घण्टापछि नै जीवनमा पहिलो पटक अन्तराष्ट्रिय उडानको अनुभव गर्न पाउँने रोमान्चकताले शरिरमा त्यो जाँगर भरिदिएको थियो । 

नेपाल एयरलाईन्सले इमेलमा एघार चालिसको फ्लाईट टाइम पठाएको थियो ।

यसको मतलव नौ बजे सम्म म एयरपोर्ट पुगिसक्नु पर्ने थियो ।

उठेर यताउती गर्दागर्दै भित्ताको घडीले आठ बजाईसकेछ ।

हतार हतार दुईचार जोर कपडा सुट्केसमा कोच्न थालेँ ।

जे काम पनि अन्तिम आवरमा गर्ने मेरो पुरानै झुर बानी छदै छ ।

कति पटक धोका खाइसक्दा पनि यस्तो बानी कहिल्यै छुटेन ।

हस्याङ्फस्याङ् गर्दैगर्दा म सँगै यात्रा गर्ने एकजना दाईको कल आयो । फ्लाईट टाइम तिन घण्टा डिले भएछ ।

खाना खाएर एघार बजे एयरपोर्ट पुगेँ । 

***

‘म सँग भिसा छ, म किन जान नपाउँने ?’

‘भिसा हुदैमा केटी मान्छे एक्लै जान मिल्दैन ।’

‘केटी मान्छे एक्लै जान मिल्दैन भनेर कहाँ लेखेको छ ?’

‘म सँग धेरै डिस्कस् नगर्नुस्, मिल्दैन भनेपछि मिल्दैन ।’ 

‘तपाईको बोस कहाँ हुनुहुन्छ ? म उहाँ सँग कुरा गर्छु ।’ 

‘उ त्यँहा भित्र जानुस्.. ।’ औँलाले हाकिमको क्याविन देखाउँदै काउन्टरको कर्मचारीले भने । 

***

निलो जिन्स्, कालो लेदर ज्याकेट, कालै बुट र पिठिउँमा कालो ब्याग भिरेकी बाइस तेइस बर्षको जस्तो देखिने सर्लक्क ज्यान भएकी युवती हाकिमको क्याविनतिर लागिन् ।

टिकट कन्फर्म गराउन उनी भन्दा तिन जना पछाडी नेपाल एयरलाईन्सको काउन्टरमा म पनि लाईनमा थिएँ ।

काउन्टरका कर्मचारी र उनी बिचको चर्काचर्की वरै सम्म सुनिएको थियो ।

खास कुरा के रहेछ भने केटी मान्छे एक्लैलाई बैंकक जान एयरपोर्टले दिदो रहेनछ । उनी एक्लै जाने तरखरमा थिईन ।

त्यसैले काउन्टरको कर्मचारी र उनको यो लफडा परेको थियो । 

एकैछिन्मा उनी हाकिमको क्याविनबाट बाहिरिइन् ।

सिधै काउन्टरको लाईन तर्फ आईन् ।

म भन्दा अगाडी एकजना दाई काउन्टमा पुग्नु भएको थियो । म दोस्रो नम्बरमा थिएँ ।

निधारमा चिट्चिट् पसिना निकाल्दै हतास मनस्थितिमा उनी म भए ठाँउ सम्म आईपुगिन् । 

‘दाई, तपाईँ बैंकक जान लाग्नु भएको हो ?’ 

‘हो’ उनी तिर फर्किदै भनेँ । 

‘प्लिज दाई मलाई हेल्प गर्नुस् न ।' 

म पनि यहि फ्लाईटबाट बैंकक जान लागेको हो ।

केटी मान्छे एक्लै जान मिल्दैन भनेर रोक्यो ।

मेरो होटल बुकिङ छ, 'पे' भईसकेको छ ।

म आज नपुगि हुन्न ।

प्लिज दाई, तपाईकै मान्छे भनेर मलाई लगिदिनुस् न…प्लिज..!’

उनले एकै सासमा भनिसिध्याईन् ।

उनको त्यो फ्लाईट छुटेमा होटललाई तिरेको पैसा त जान्थ्यो नै टिकटको समेत क्यान्सिलियसन् चार्ज लाग्थ्यो ।

त्यसैले पनि उनी धेरै आत्तिएकी थिईन् । 

उनको अनुहार नियालेर हेरेँ ।

ब्राउन कलर्ड कर्ली कपाल, गोरो आर्यन फेस, हल्का गाजल अनी सहयोगको याचना गरिरहेका दुई आँखा ।

उनको गहमा टिलपिलाएका आँसु देखेर मेरो मन पग्लियो ।

हेल्प गरौँ कि भन्ने त लाग्यो तर उनी बैंकक जानुको उदेश्य मलाई पनि थाहा थिएन ।

कतै उनको उदेश्यमा कुनै खोट छ भने सहयोग गर्नु उचित हुन्न भन्ने लाग्यो ।  

मैले सोधेँ ‘तिमी बैंकक किन जान लागेको ?’ 

‘घुम्न’ उनले झटपट जवाफ दिईन् ।

‘तिमी एक्लै घुम्ने ?’ उता उनको कोही साथी छ कि भन्ने धेयमा सोधेँ । 

‘अँ..म एक्लै घुम्न सक्छु ।’ आत्मविश्वासका साथ भनिन् । 

***

उदार यौन व्यवसाय अंगालेको, अझ अर्थतन्त्रको ठुलो हिस्सा नै यौन व्यवसायले धानेको देश भनेर विश्व मानचित्रमा चिनिएको देशमा लक्का जवान केटी मान्छे एक्लै घुम्न जान लाग्दा नेपाल एयरलाईन्सलाई जुन शंका लागेर रोकेको थियो मलाई पनि त्यहि शंका थियो ।

थाइल्याण्डको यौन बजारमा नेपाली युवतीहरुको बाक्लो उपस्थिति हुदै गएको छ भन्ने समाचारहरु आईरहने गर्छन् ।

कतै उनको लुकेको उदेश्य पनि यहि त होईन भन्ने आशंका उब्जनु स्वभाविक नै थियो । तर वास्तविकता नबुझी उनको चरित्र माथी प्रश्न उठाउन मिल्ने कुरा पनि भएन । 

पछिल्लो अवस्थामा वैदेशिक रोजगारीमा जाने नेपाली नारीहरुको लर्को पनि निक्कै लामो देखिन्छ ।

बैधानिक रुपमा श्रम सम्झौता गरेर भिसा लगाएर जाने देखि अबैधानिक रुपमा चोर बाटो प्रयोग गरेर बिभिन्न देश हुदैँ जोखिमपुर्ण रुपमा विना भिसा जानेहरु पनि उत्तिकै देखिन्छन् ।

यसरी गन्तव्यमा पुग्न नेपालबाट सजिलै भिसा पाईने थाईल्याण्डलाई ट्रान्जिट हब बनाउनेहरु पनि धेरै छन् ।

कतै उनी पनि त्यहाँबाट अन्य कुनै देश जानको लागी थाईल्याण्ड घुम्न जाने भन्ने योजना त होईन भन्ने अर्को आशंका पनि मेरो मनमा थियो ।

त्यो पनि उनलाई ठाडै सोध्न सक्ने अवस्था थिएन । त्यति लामो सवाल जवाफ गरिरहने समय पनि थिएन । 

उनलाई लैजाने कि नलैजाने भन्नेमा म विलखबन्धमा परेँ ।

एक मनले भन्थ्यो हेल्प गर्, अर्को मनले भन्थ्यो भोली केही अप्रिय भयो भने तेरो हेल्प जीवनभर पछुताउँने छ केटा !

निर्णय लिने समय थोरै थियो ।

म के गरौँ के भन्ने स्थितिमा पुगेँ ।

म भन्दा अगाडीको मान्छे हिडिसकेपछि मेरो पालो थियो ।

म अगाडी बढेँ ।

***

काउन्टरको कर्मचारीले मलाई टिकट र पासपोर्ट मागे ।

उनलाई सँगै लाने भए मेरो सँगै उनको पनि टिकट र पासपोर्ट दिनुपथ्यो ।

मैले उनलाई पुलक्क हेरेँ ।

टिकट च्यापेको हरियो पासपोर्ट हातमा बोकेर ठिँग उभिएकी उनले बर्रर आँशु झारिन् ।

मैले उनको हातबाट पासपोर्ट थुतेर मेरो सँगै काउन्टरमा दिएँ ।

अव सुरु भयो केरकार ।

‘अघि एक्लै आएको केटी अहिले कसरी तपाईँ सँग भई ?’

काउटन्टरको कर्मचारीले मलाई तिखो सवाल राखे ।

‘हामी ग्रुपमै जान लागेको हो, उनले अघि हामी माथी गईसक्यौँ भन्ठानेर प्लेन छुट्ला कि भन्ने हतारले एक्लै जान लागेको भनिछन् ।’ मैले सरासर झुटो बोलेँ ।

ति कर्मचारीले मलाई एक दर्जन बढी प्रश्न तेर्साए । सवै प्रश्नको मैले सोह्रै आना झुटो जवाफ दिईरहेँ । तर पत्यार लाग्ने तरिकाले ।

उनले निर्णय लिन सकेनन् ।

हामीलाई टिकट र पासपोर्ट सहित हाकिमको कोठामा पठाए । 

मनमनै सोँचे– म कहाँ आएर फसेँ ! म यो लफडामा किन परिरहेको छु ? सरासर आफ्नो हिसावमा गएको भए यो सारा झुट र तनावको के आवश्यकता थियो ?

उता फ्लाईट टाईम हुन लागिसक्यो यताको ताल यस्तो छ ।

म सँगै जाने दाईहरु अघि नै बोडिङ पास लिएर गईसके ।

यस्तै ताल हो भने मेरो पनि फ्लाईट छुट्ने भो ।

यो के झन्झट आईलाग्यो वेकारमा !

सोच्दा सोच्दै हाकिमको क्याविनको ढोका नजिकै पुग्यौँ ।

फेरी एकपटक उनको अनुहार हेरेँ ।

पानी परेपछिको आकाश जस्तो खुलिसकेको रहेछ । मुसुक्क हाँसिन् ।

एकैछिन् अघि रुने मान्छे यहि हो भन्ने विश्वास नै नलाग्ने चेहेरा देखिन्थ्यो त्यतिवेला । रुदाँरुदै एकैछिन्मा खुसी भइहाल्ने क्षमता सायद केटी मान्छेमा मात्र हुन्छ ।

उनको उज्यालिएको मुहार देख्दा सहयोग गर्न तत्पर भएर गल्ति गरेको छैन कि भन्ने लाग्यो ।

कसैलाई यतिको खुसी दिन सक्नु पनि धर्मै हो भन्ने सोचेँ ।

अघि कहाँ फँसे भन्ने वाला फिलिङस्लाई थोरै भएपनि राहत मिल्यो ।  

हामी क्याविन भित्र पस्यौँ  ।

मेरो सवै झुटवाला कुरा सुनिसकेपछि हाकिमले कुरो टुङ्ग्याउदै भने ‘ठिक छ, उहाँ तपाईँकोे साथी हो, म सँग जान लागेको हो भन्नुहुन्छ भने उनलाई मैले रोक्न मिल्दैन, जानुस् ।

तर, भोली वहाँलाई केही भईहाल्यो भने त्यसको जिम्मेवारी तपाईँले लिनुपर्छ ।

तपाईँको पासपोर्ट म स्क्यान गरेर राख्छु ।’ हाकिमले मलाई स्पष्ट शब्दमा चेतावानी दिए । 

एक हिसावले त हाकिमको कुरा ठिक पनि हो ।

भोली केही भईहाल्यो भने त म फस्छु ।

उनलाई भित्रि रुपमा त मैले चिनेको छैन ।

म अहिले सम्म भावनामा बगिरहेको छु । तर, म आफ्नो निर्णय बदल्ने अवस्था भन्दा धेरै अगाडी आईसकेको थिएँ ।

अव कसरी व्याक हुन सक्छु र ! मनमनै निणर्य गरेँ– जे पर्ला भगवान भरोसा ।

मेरो अनुहारमा हेरेर मेरो निर्णय पर्खिरहेका हाकिमलाई भनेँ ‘ठिक छ, उनलाई केही भयो भने त्यसको जिम्मेवारी म लिउँला, अनि मलाई केही भयो भने चाँही त्यसको जिम्मेवारी कसले लिन्छ ?’

उनले जवाफ दिएनन्, हाँसे मात्र । ‘जहाजको बोडिङ टाईम हुन लागिसक्यो काउन्टर गएर छिटो माथी जानुस्’ भने । हामी काउन्टर आएर बोडिङ पास लिएर हतारहतार लिफ्ट चढ्यौँ । 

माथी इमिग्रेसनको काउन्टर, सुरक्षा जाँच पार गर्दै तोकिएको तिन नम्बर गेटमा पुग्यौँ ।

जहाँबाट हाम्रो बोडिङ सुरु भईसकेको थियो । म सँगै बैंकक जाने दाईहरु मलाई पर्खिरहनु भएको रहेछ ।

हामी पुग्ने वित्तिकै एकजना दाईले जिस्काईहाल्नु भयो– ‘विहे सकाएर आईयो होईन त ? अव हनिमुन ट्रिप ?’ हामी सबै हाँस्यौँ ।

उनी थोरै लजाईन् ।

‘दाई, यो विषयलाई त्यति पर सम्म पुर्याउनु  भन्दा पनि उनलाई सहयोग गरेको एउटा संयोगको घटना सम्झौ न’ मैले भनेँ ।

विमान तर्फ प्रस्थान गर्न वस चड्न लगभग हामी नै अन्तिम भईसकेको थियौँ ।

वस चढेर नेपालले भर्खरै किनेको वाइडबडी ‘मकालु’ विमान तर्फ लाग्यौँ ।  

क्रमश… 

(समसामयिक विषयमा कलम चलाउने दाहालद्वारा लिखित कथाको अर्को श्रृङ्खला आगामी आईतबार लोकपथमा प्रकाशन हुनेछ ।)  लोकपथ  डट कम लाईक कमेन्ट सेयर र सब्स्क्राईब गर्न नभुल्नुहोला । हाम्रा भिडियोहरुका लागि युट्युवमा गएर  LOKPATH TV टाईप गरी सब्स्क्राईब गर्नुहोला ।)

यो पनि पढ्नुहोस् । 

 –तिमिलाई छोरी मन पर्दैन ?

– महाराज ! उडाइदिउँ केसीलाई 

 

 

प्रतिक्रिया दिनुहोस
कवि शरद पोख्रेलको मर्मस्पर्शी कविता : विज्ञप्ती

शरद पोख्रेल पहिले घरबारी कब्जा गर्छ, नांगो परेड खेल्छ र त्यसमै नाच भन्छ

प्रेमप्रसाद सञ्जेलको कविता : माथिकालाई चिल्लो लगाउँछ ! ( हेर्नुहोस् भिडियो )

श्रम कार्यालय विराटनगरका प्रमुख उपसचिव  प्रेमप्रसाद सञ्जेल भ्रष्टाचारविरोधी अभियन्ता हुन् । हामी घुस

कथाकार रवीन्द्र तिमसेनाको ‘आवरण’ सार्वजनिक

काठमाडौँ- कथाकार रवीन्द्र तिमसेनाको लघुकथा सङ्ग्रह ‘आवरण’ सार्वजनिक गरिएको छ ।  नेपाल प्रज्ञा–प्रतिष्ठान

ठगेन्द्र कुमार जमरकट्टेलको ‘समर्पण’ सार्वजनिक

काठमाडौं । ठगेन्द्र कुमार जमरकट्टेलले 'समर्पण' नामक कविता सङ्ग्रह बजारमा ल्याएका छन् ।