काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नदीमा ‘बेलिब्रिज’ बन्ने भएको छ । जिल्लाको तीनवटा पालिकालाई जोड्नेगरी उक्त बेलिब्रिज बन्न लागेको हो ।
२०७८ साल असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको भिषण बाढीले पक्की पुल भत्काएपछि सो स्थानमा आवतजावतका लागि समस्या भएको थियो । अब बेलिब्रिज बन्ने भएसँगै स्थानीयवासी हर्षित भएका छन् ।
गत मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका बखत उम्मेदवारहरुले गरेको प्रतिवद्धताअनुसार उक्त बेलिब्रिज बन्न लागेको हो । निर्वाचनका समयमा जेठ मसान्तभित्र बेलिब्रिज निर्माण गर्ने प्रतिबद्धता गरे पनि केही समय ढिलो गरेर जडान हुन लागेको बागमती प्रदेश सभासदस्य कृष्णकुमार तामाङ (समीर) बताउँछन् । ‘अब बेलिब्रिज निर्माण प्रक्रिया तत्काल अगाडि बढ्छ,’ उनले भने ।
वर्षायाममा आवतजावत गर्न निकै समस्या हुने भएकाले जतिसक्दो चाँडो सम्पन्न गर्नका लागि सांसद तामाङले नेपाली सेनालाई आग्रहसमेत गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र बागमती प्रदेश सभा सदस्य तामाङको पहल, निरन्तर प्रयासपछि मेलम्ची खोलामा बेलिब्रिज निर्माण गर्नका लागि अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रक्षा मन्त्रालयलाई जिम्मेवारी दिएको थियो ।
नेपाली सेनाको इञ्जिनियरिङ विभाग, १४ नं वाहिनी अड्डाबाट महासेनानी बुढाथोकीको नेतृत्वमा आएको टोलीले अध्ययन सर्वेक्षण गरेको हो ।
नेपाली सेनाका महासेनानी ईश्वर बुढाथोकीले बेलिब्रिज जडान कार्य केही चुनौती रहे पनि जतिसक्दो चाँडो कार्य सम्पन्न गर्न लागिपर्ने जानकारी दिए ।
बेलिब्रिज बनेपछि मेलम्ची नगरपालिका, पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिकाका बासिन्दालाई आवातजावतका लागि सहज हुनेछ । सदरमुकाम चौतारा जाने छोटो दूरीको ‘रुट’का रुपमा समेत यस सडकमार्गमा बेलिब्रिज बनेपछि थप सहज हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया