निर्माण व्यवसायीहरूको समस्या समाधानमा पहल गर्ने मन्त्री ज्वालाको प्रतिबद्धता

लोकपथ
0
Shares

काठमाडौं। आर्थिक वर्ष २०८०÷०८१ को बजेट मार्फत् सरकारले म्याद थप लगायतका महत्वपूर्ण मागहरू सम्बोधन नगरेको भन्दै आन्दोलित नेपाल निर्माण व्यवसायी महासंघले यसबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी) नेतृत्वको प्रतिनिधिमण्डलले मंगलवार मन्त्री ज्वालालाई भेटी महासंघका मागहरूका विषयमा ध्यानाकर्षण गराएको हो ।

सो क्रममा लामाले माइलस्टोनको खारेजी सहित म्याद थप, भुक्तानी, मूल्य समायोजन लगायतका व्यवसायीहरूको अत्यन्त महत्वपूर्ण मागहरू बारे बजेटमा केही सम्बोधन नभएकाले व्यवसायीहरू ठूलो मारमा परेको बताए ।

मूल्य समायोजन सहित एकमुष्ट रुपमा २०८१ असार मसान्त सम्म सबै आयोजनाहरूको म्याद थप हुनुपर्ने उनले बताए ।

व्यवसायीहरूको रकमको भुक्तानी भएमा अर्थतन्त्र चलायमान भई त्यसको सकारात्मक प्रभाव राज्यको अर्थतन्त्रमै देखिने उनले बताए ।

सो क्रममा मन्त्री ज्वालाले म्याद थप र भुक्तानीका विषयमा आफू सकारात्मक रहेको बताउँदै व्यवसायीहरूको समस्या समाधानमा सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।
मन्त्रालयका सचिव इन्जिनियर केशव कुमार शर्माले पनि व्यवसायीहरूका माग प्रति मन्त्रालय सकारात्मक रहेको जानकारी दिए ।

महासंघ प्रतिनिधिमण्डलमा महासंघका उपाध्यक्षहरू रामजी पन्त ‘मुकेश’, बालकृष्ण थापा, नीतिगत उपमहासचिव शिवहरि घिमिरे, कार्य समिति सदस्य दानबहादुर खड्का, महासंघका कार्यालय प्रमुख प्रेमसिंह ऐर लगायत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?