अलपत्र आयोजना सक्न सरकारको ध्यानाकर्षण

लोकपथ
39
Shares

वलेवा । बागलुङ जिल्ला समन्वय समितिको दोस्रो जिल्ला सभाले अलपत्र परेका मुख्य आयोजना तत्काल पूरा गर्न सङ्घीय र प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

सभाले मध्यपहाडी लोकमार्गसहित रणनीतिक सडक, अस्पताल, स्वास्थ्यचौकी जस्ता करोडौँका आयोजना समयमा नसक्दा जनताले सास्ती खेप्नु परेकाले समयमै पूरा गर्न आग्रह गरेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख अमर थापाका अनुसार सभाले समपुरक कोष मार्फत् सञ्चालित धेरै आयोजना सङ्घ र प्रदेशको बजेट निकासा नभएर अलपत्र परेको भन्दै पालिकालाई दोहोरो भार पार्ने काम रोक्न माग गरेको छ । त्यस्तै दक्षिण बागलुङ जाने मालढुङ्गा कुश्मीसेरा सडकको गलुवा पहिरो नियन्त्रणका लागि बैठकले पहल गरेको छ । राष्ट्रपति शैक्षिक सुधार परियोजनामा निर्माण भएका भवनको रकम निकासा नभएको, काम गर्दा गर्दै बेरुजू आउने समस्या समाधानमा पनि समितिले चासो राखेको हो । सो अनुसार काम अगाडि बढाउने निर्णय समेत गरेको हो ।

पटक–पटक तेलको मूल्य घट्दा पनि सवारीको भाडादर नघटेको, कच्ची सडक हुँदाके भाडादर पक्की बन्दा पनि नघटाइएकोमा सभाले चासो राखेको थियो । सो को कार्यान्वयनका लागि प्रमुख जिल्ला अधिकारी र यातायात व्यवस्था कार्यालय मार्फत् पहल गर्ने निर्णय गरिएको समन्वय अधिकारी कृष्णराज गौतमले बताए।

बैठकमा तमानखोलाको बोङगादोभान बजार र निसीखोला गाउँपालिकाको हुल्दी पहिरो प्रभावित क्षेत्रमा आवस्यक लगानी भित्राएर संरक्षणका कार्यक्रम संचालन गर्नुपर्ने समेत निर्णय गरिएको बताइएको छ ।

बजार क्षेत्रमा देखिने अखाद्य बस्तुको बिक्री बितरणमा कडाइ गर्न जिल्ला अनुगमन समितिलाई निर्देशन दिने, नियमित अनुगनमका लागि पहल गर्ने प्रक्रिया समेत अगाडि बढाउनुपर्ने निर्णय गरिएको हो । जिल्लाभित्रका सरोकार राख्ने विषयमा छलफल गर्नुको साथै बैठकले सबै पालिकालाई तीन दिनभित्र आफ्नो आफ्नो पालिका भित्रका अलपत्र योजनाको सूचिकरण गर्न पनि निर्देशन दिएको छ । उक्त निर्देशन अनुसार अलपत्र परेका योजना कति छन्, कता छन्, कति लगानी भयो, कति आवश्यक छ । काम गर्ने ठेकेदारको बिवरण र अहिले सम्म के कति काम सम्पन्न भएको जानकारी माग गरिएको थापाले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?