यसरी समावेशी बनाइँदैछ प्रदेशसभा

काठमाडौँ, ८ कात्तिक – संवैधानिक व्यवस्थाअनुसार राज्यका सबै निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न प्रत्येक प्रदेशमा फरकफरक समावेशिताको आधार तयार भएको छ ।निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिक निर्वाचनतर्फ एउटै प्रदेशभित्र पनि संविधानले तोकेका क्लस्टरको आधारमा समानुपातिक समावेशीको आधार तयार पारेको हो । सोही आधारअनुसार ६ वटा क्लस्टरलाई आयोगले प्रदेशसभा सदस्य निर्वाचन नियमावलीमा समावेश गरेको खबर गोरखापत्रमा छापिएको छ ।निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले प्रत्येक प्रदेशमा छुट्टाछुट्टै समावेशीको आधारसहित ‘क्लस्टर’ विभाजन भएको बताए । सोही क्लस्टरअनुसार दलहरूले उम्मेदवारको सूची पेस गर्नुपर्ने ढकालले जानकारी दिए ।आयोगले पारित गरेको नियमावलीअनुसार आदिवासी जनजातिको सबैभन्दा बढी प्रतिनिधित्व प्रदेश ३ मा हुनेछ । प्रदेश ३ मा आदिवासी जनजातिबाट ५३.१७ प्रतिशत प्रतिनिधित्व हुनेछ । यस्तै प्रदेश १ बाट ४६.७९, प्रदेश ४ बाट ४२ प्रतिशत प्रतिनिधित्व हुनेछ । आदिवासी जनजातिको सबैभन्दा कम प्रतिनिधित्व प्रदेश ७ मा ३.६१ प्रतिशत हुनेछ । प्रदेश ५ मा १९.५८, प्रदेश ६ मा १३.६३ र प्रदेश २ मा ६.६१ प्रतिनिधित्व हुनेछ ।यस्तै खस आर्यको सबैभन्दा बढी प्रतिनिधित्व प्रदेश ६ मा हुने भएको छ । प्रदेश ६ मा खस आर्यको ६२.२ प्रतिशत प्रतिनिधित्व हुनेछ । यस्तै प्रदेश ७ मा ६०.०२ प्रतिशत र प्रदेश २ मा सबैभन्दा कम ४.८९ प्रतिशत प्रतिनिधित्व हुनेछ । प्रदेश ३ र ४ बाट ३७ प्रतिशत खस आर्यको प्रतिनिधित्व प्रदेशसभामा हुनेछ । यस्तै प्रदेश ५ बाट २८.८४ र प्रदेश १ बाट २७.८४ प्रतिशत खस आर्यको प्रतिनिधित्व प्रदेशसभामा हुनेछ ।थारू समुदायबाट सबैभन्दा बढी प्रतिनिधित्व प्रदेश ७ मा हुनेछ । प्रदेश ७ को सभामा थारूको १७.२१ प्रतिशत प्रतिनिधित्व हुनेछ । यस्तै प्रदेश ५ मा १५.१८, प्रदेश २ मा ५.२७, प्रदेश १ मा ४.१५ प्रतिशत थारूको प्रतिनिधित्व प्रदेशसभामा हुनेछ । सबैभन्दा कम प्रदेश ६ मा ०.५ प्रतिशत र प्रदेश ३ र ४ मा क्रमशः १.६६ र १.७२ प्रतिशत प्रतिनिधित्व हुनेछ ।दलितको सबैभन्दा बढी प्रतिनिधित्व प्रदेश ६ मा हुनेछ । त्यहाँ २३.२५ प्रतिशत दलितको प्रतिनिधित्व हुनेछ । दलितको प्रदेश १ मा १०, प्रदेश २ मा १७.२९, प्रदेश ३ मा ५.८४, प्रदेश ४ मा १७.४४ र प्रदेश ५ मा १५ प्रतिशत प्रतिनिधित्व हुनेछ । प्रदेश ७ को सभामा दलितको १७.२९ प्रतिशत प्रतिनिधित्व हुनेछ । जनसङ्ख्याका आधारमा तयार पारिएको क्लस्टरमा मधेसीको सबैभन्दा बढी प्रतिनिधित्व प्रदेश २ मा हुनेछ । प्रदेश २ को प्रदेशसभामा ५४.३६ प्रतिशत प्रतिनिधित्व मधेसीको हुनेछ । यस्तै प्रदेश ४ र ६ मा मधेसीको प्रतिनिधित्व सबैभन्दा कम छ । दुवै प्रदेशको प्रदेशसभामा क्रमशः ०.५२ र ०.२४ प्रतिशत प्रतिनिधित्व रहनेछ । मधेसीको प्रदेश ७ मा १.६४, प्रदेश ३ मा १.५७ र प्रदेश १ मा ७.५७ प्रतिशत प्रतिनिधित्व हुनेछ ।मुस्लिमको सबैभन्दा बढी प्रतिनिधित्व प्रदेश २ मा हुनेछ । प्रदेश २ को सभामा मुस्लिमको ११.५८ प्रतिशत प्रतिनिधित्व हुनेछ । प्रदेश ५ मा ६.९४ र प्रदेश १ मा ३.५९ प्रतिशत प्रतिनिधित्वबाहेक अन्य प्रदेशसभामा मुस्लिमको प्रतिनिधित्व एक प्रतिशतभन्दा कम हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?