काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले मधेशले ईपिजीको प्रतिवेदनलाई सिधै खारेज वा इन्कार गर्ने चेतावनी दिए ।
उनले भने,‘ईपिजीमा एकजना पनि बोर्डरमा बस्ने मधेशी समूदायको मान्छे सहभागी थिएनन् । बोर्डरमा के समस्या छ ? हाम्रो रोजीबेटीको सम्बन्ध भनेपछि त्यो कुन प्रकारले अघि बढ्ने हो र कुन प्रकारले बढिरहेको थियो ? र कुन प्रकारले बढ्नुपर्छ भनेर निर्णय गर्दा हाम्रो कुनै पनि सहभागिता नभएकोले त्यो प्रतिवेदन हामी कुनैपनि हालतमा स्विकार्दैनौं ।’
झाले नेपाल सरकारले यदि त्यसलाई यथास्थितिमा अघि बढाए आफूहरुले त्यसको विरोध गर्ने चेतावनी दिए । उनले भने,‘त्यसैले त्यसको रिभ्यु हुनुपर्छ । त्यसमा मधेशी समुदायको स्टेक हुनुपर्छ ।’
उनले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सदियौंदेखि अत्यन्तै प्रगाढ रहेको सुनाउँदै आगामी दिनमा पनि सम्बन्ध सुमधुर बनाउनुपर्नेमा जोड दिए । उनले भने,‘नेपाल–भारत सम्बन्ध हामीले बनाएको होईन, यो त युगौं अघिदेखि निर्मित हो । हामीबीचको सम्बन्ध अतुलनीय छ ।’
उनले नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा आँच आउने काम कसैले पनि गर्न नहुने धारणा व्यक्त गरे । उनले थपे,‘हामीबीच नदी साझा, चराचुङी साझा, भगवान साझा, सैतान साझा सबै साझा छन् । हामीबीचको सम्बन्धमा जे कुरामा पनि साझा लगाउँदा पुग्छ ।’
उनले आतंकवाद र अपराधको समस्या पनि साझा भएकोले यो समस्यालाई साझा रुपमा हल गर्नुपर्ने बताए । भारतको ७० औं गणतन्त्र दिवसको अवसरमा भारतलाई पूर्ण सफलता मिलोस भन्दै शुभकामना पनि दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया