बजेटले बढाउन नसकेको सेयर बजार : साताभर कस्तो रह्यो कारोबार ?

लोकपथ
78
Shares

काठमाडौं । सरकारले यही जेठ १५ गते आर्थिक बर्ष २०८०–०८१ को लागि बजेट सार्वजनिक गर्यो ।

बजेट घोषणापछि सेयर बजार बढ्ने अपेक्षा लगानीकर्ताहरुले गरेका थिए ।

सोहीकारण पनि हुन सक्छ, बजेट घोषणा हुनुअघि केही दिन लगातार सेयर बजार बढेको थियो । तर सरकारले आगामी आर्थिक बर्षको बजेट मार्फत सेयर कारोबारमा पुँजीगत लाभकर तिनुपर्ने, मर्जरमा जाने कम्पनीहरुलाई केही समयको लागि दिईने कर छुट लगायतका बिषयमा परिमार्जन गर्यो । जसको प्रभाव यो साताको सेयर बजारमा देखियो ।

बजेट घोषणाअघि निरन्तर बढेको नेप्से बजेट घोषणा भएपछि निरन्तर घट्न थाल्यो । जसले गर्दा यो साता बजार परिसुचक १८ सय ६६ दशमलव ३४ सिमित हुन पुग्यो । यसैगरी क बर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ५५ दशमलव ६२ अंकमा अंकमा खुम्चिन पुग्यो । सो अनुसार सातामा दुुई सय ७५ वटा कम्पनीहरुको एक लाख ५५ हजार एक सय १० पटक सेयर किनबेच भयो । उक्त किनबेचका आधारमा दुई करोड ८९ लाख ८८ हजार सात सय तीन कित्ता शेयर खरिद–बिक्री कुल कारोबार रकम आठ अर्ब ९५ करोड ११ लाख छ हजार ३६ रुपैंयाँ कायम भयो । यद्धापी यो कारोबार रकम गत साताको तुलनामा केही बढी हो ।

गत साता भने दुुई सय ७३ वटा कम्पनीहरुको एक लाख ३३ हजार सात सय १४ पटक सेयर किनबेच भएको थियो । जसबाट एक करोड ९२ लाख ५७ हजार चार सय ३५ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम छ अर्ब ९५ करोड २२ लाख ३९ हजार चार सय २७ रुपैंयाँ ५८ पैसा कायम भएको थियो । दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा यो साता नेप्से नियमित कारोबारको लागि चार कार्य दिन मात्र नेप्से खुल्ला रहेको थियो । जसमध्ये पहिलो, तेस्रो, चौथो दिन घटेको नेप्से पाँचौं दिन भने बढेको थियो । दोस्रो दिन भने सार्वजनिक बिदा परेकाकारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो ।

पहिलो दिन १७ दशमलव ३८ अंकले घटेर १९ सय ४१ दशमलव ७४ अंकमा झरेको नेप्से तेस्रो दिन पुन ५३ दशमलव १६ अंकले घटेर १८ सय ८८ दशमलव ६१ अंकमा पुगेको थियो । यसैगरी चौंथो दिन पनि ३८ दशमलव ८३ अंकले घटेर १८ सय ४९ दशमलव ७९ अंकमा खुम्चिएको नेप्से पाँचौं दिन भने १६ दशमलव ५४ अंकले बढेर १८ सय ६६ दशमलव ३४ अंकमा पुग्न सफल भएको थियो । पहिलो दिन एक दशमलव ९० अंकले घटेर तीन सय ६९ दशमलव ४२ अंकमाा सिमित भएको सेन्सिटिभ इन्डेक्स तेस्रो दिन पनि आठ दशमलव ७२ अंकले घटेर तीन सय ६० दशमलव ७१ अंकमा खुम्चिएको थियो । चौंथो दिन पनि सात दशमलव २८ अंकले घटेर तीन सय ५३ दशमलव ४३ अंकमा झरेको सेन्सटिभ इन्डेक्स पाँचौ दिन भने दुई दशमलव १९ अंकले बढेर तीन सय ५५ दशमलव ६२ अंकमा पुग्न सफल भएको थियो ।

यो साता शिवम सिमेन्ट, एनआईसी एशिया बैंक, हिमालयन डिष्ट्रिलरी प्राली, नबिल बैंक आदिको बढी रकम कारोबार भएका छन् भने हिमालयन डिष्ट्रिलरी प्राली, शिवम सिमेन्ट, एनआईसी एशिया बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीहरु अगाडि परेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?