भारतको लगानी बढाऔँ, निर्यात पनि भारतमा नै गरौँ: पूर्वअर्थमन्त्री डा. महत

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपाल–भारत सम्बन्ध बहुआयामिक भएको बताएका छन् । डा. महतले नेपाल र भारतबीचको युगौँ युगदेखिको सम्बन्ध प्रगाढ रहेको बताएका हुन् ।डा. म

हतले भारतले नेपाल लगायत विश्वका धेरै देशलाई अनुकरणीय काम गरेर मार्गदर्शन गरेको पनि बताए । “भारतको संविधानमा प्रजातन्त्रका सबै अङ्ग समावेश छन् । जुन अरु देशले पनि अनुकरण गर्न सक्छन् ।” महतले भने ।

नेपाल–भारतबीचको सम्बन्ध ऐतिहासिक भएको जिकिर गर्दै डा.महतले भारतको स्वतन्त्रता संग्राममा नेपालको सहयोग र नेपालमा राणा शासन अन्त्य गर्नका लागि भारतको भूमिका महत्वपूर्ण रहेको स्मरण गराए । 

“भारतको स्वतन्त्रता संग्राममा नेपालबाट विपी कोइरालाले सहयोग गर्नुभयो । सहभागीपनि हुनुभयो । भारत स्वतन्त्र भएपछि नेपालबाट पनि राणा शासनको अन्त्य गर्नुपर्छ भन्ने आवाज उठ्यो ।” महतले भने ।

नेपाल आर्थिक विकासको युगमा प्रवेश गरेको उल्लेख गर्दै महतले भारतको सहयोग अपरिहार्य रहेको बताए । नेपाल आफैँ पनि आन्तरिक रुपमा बलियो हुनुपर्ने बताउँदै उनले भारतको आर्थिक सहयोग नेपालका लागि महत्वपूर्ण हुने बताए । 

“भारत विश्वकै आर्थिक शक्तिराष्ट्रको रुपमा उदाउँदैछ । यस्तो अवस्थामा नेपालले भारतको राम्रो सहयोग पाउन सक्छ । तर नेपाल आफैँ पनि आन्तरिक रुपमा मजवुत बन्नुपर्छ । लगानीको वातावरण पनि बनाउन सक्नुपर्छ ।”महतको भनाई थियो । 

नेपालमा वैदेशिक लगानी वृद्धिको मुख्य स्रोत नै भारत भएको महतको तर्क छ । नेपालमा भारतको लगानी बढाउने र नेपालबाट भारतमा नै विभिन्न वस्तु निर्यात गर्ने कुरालाई प्राथमिकतामा राख्नुपर्ने महतले बताए । 

नेपालबाट भारत निर्यात हुने वस्तुका लागि भारतीय बजार खुला र सहज बनाउनुपर्नेमा पनि महतले जोड दिए । 

भारतको सहयोगमा बन्न लागेका अरुण तेस्रो र माथिल्लो कर्णाली आयोजनाको विषयमा गम्भीर बन्न महतले भारतलाई सुझाब दिएका छन् । अरुण तेस्रोमा समस्या नभए पनि माथिल्लो कर्णालीमा केही अन्योल देखिएको भन्दै महतले ध्यानाकर्षण गराए । 

नेपाल–भारत प्रवृद्ध व्यक्ति समुहले तयार पारेको प्रतिवेदनलाई नेपाल र भारत सरकारले बेवास्ता गरेको हो कि भनेर महतले आशंका व्यक्त गरेका थिए । डा.महतले ईपिजी प्रतिवेदनलाई दुवै सरकारले महत्व दिनुपर्नेमा जोड दिए । 

भारतले भोली गणतन्त्र दिवस मनाउँदैछ । दिवसको पूर्वसन्ध्यामा गरिएको कार्यक्रममा महतले भारतलाई अझै सफलताको शुभकामना दिएका छन् । साथै नेपाल र भारतबीचको सम्बन्ध पनि अझै प्रगाढ हुनेमा महतले विश्वास व्यक्त गरे । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?