विद्यालयमा कम्प्युटर ल्याब स्थापना

लोकपथ
0
Shares

काठमाडौं । यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित मनोकामना जनकल्यान माध्यमिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको छ ।

निर्मलीडाँडाका स्थानीय एवम् सामाजिक अभियान्ताको पहलमा विद्यालयमा १६ थान कम्प्युटरसहित ल्याब स्थापना गरिएको हो । कक्षा १२ सम्म आधुनिक प्रविधिको प्रयोगबाट पठनपाठन गराउने उद्देश्यले ईडियु टेक नेपाल फाउन्डेसन र हिमाली ट्रस्ट नेपालले कम्प्युटरका साथै विद्युतीय उपकरण उपलब्ध गराएको वडाध्यक्ष दिनेश कठेतले जानकारी दिएका छन् । उक्त दातृ निकायले १६ थान कम्प्युटर, त्यसका लागि आवश्यक ब्याकप, इयरफोन, विद्युतीय सामग्रीलगायत १८ लाख बराबरको उपकरण सहयोग गरेको उनले बताए ।

“विद्यार्थीका लागि लक्षित गरेर स्थापना गरिएको कम्प्युटर ल्याब सञ्चालनका लागि दातृ निकायले सोही विद्यालयका शिक्षकलाई दुई महिने निःशुल्क तालिमसमेत दिने छन्”, वडाध्यक्ष कठेतले भने । ल्याबका लागि स्थानीय सुनिल राई, नवराज राई शशीकला राई, जयबहादुर राई तथा विसं २०६३ मा एसएलसी दिने विद्यार्थीबाट दुई लाख ५० हजार सङ्कलन गरी आवश्यक फर्निचर खरिद गरिएको उनले बताए । विसं २०४५ मा स्थापना भएको उक्त विद्यालयमा दुई सय सात विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कक्षा एकदेखि नै कम्प्युटर कक्षामा सहभागी गराउने गरी ल्याब स्थापना गरिएको प्रधानाध्यापक पञ्चकुमार राईले जानकारी दिएका छन् । बिहान रबेलुका समुदायमा कम्प्युटर सिक्न चाहनेका लागि र दिउँसो विद्यार्थीका लागि कम्प्युटर कक्षा सञ्चालन गरिने उनले बताए ।

विद्यालयमा स्थापना गरिएको कम्प्युटर ल्याब केही समयपछि औपचारिक रुपमा उद्घाटन गरेर सञ्चालनमा ल्याउने विद्यालयले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब सञ्चालन गरिएको छ । सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले कम्प्युटर ल्याब सञ्चालन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?