काठमाडौं । समायोजनमा जानका लागि कर्मचारीको पहिलो प्राथमिकतामा सात प्रदेशमा प्रदेश नं ३ र ७ सय ५३ स्थानीय तहमा काठमाडौं महानगरपालिका परेका छन् ।
कर्मचारीको समायोजनको पहिलो प्राथमिकतामा परेको प्रदेश नं ३ मा १३ हजार ६ सय ८४ र काठमाडौं महानगरमा सात हजार २१२ कर्मचारीले आवेदन फाराम भरेका छन् ।
प्रदेशमा ५८ हजार ६२३ ले समायोजन फाराम भरेकामध्ये सबभन्दा बढी प्रदेश नं ३ मा १३ हजार ६ सय ८४ ले रोजेका छन् । प्रदेशको कूल दरबन्दी २२ हजार ७ सय ५५ मध्ये आधाभन्दा बढी प्रदेश नं ३ रोजेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी उपसचिव अनिता निरौलाले जानकारी गराए ।
मन्त्रालयले गत पुस ११ गतेदेखि माघ २ गतेसम्म सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका लागि कर्मचारीसँग आवेदन फाराम माग गरेको थियो । प्रदेशमा सबभन्दा थोरै रोज्नेमा सुदूरपश्चिम प्रदेश रहेको छ । सुदूरपश्चिम प्रदेशमा पाँच हजार ९८ कर्मचारीले मात्र रोजेका छन् ।
समायोजनका लागि एक कर्मचारीले सातवटै प्रदेश फाराम भर्न पाउने व्यवस्था गरिएको छ । कर्मचारीको दोस्रो रोजाइमा प्रदेश नं ५ परेको छ । प्रदेश नं ५ मा १० हजार ४ सय ४९ कर्मचारीले समायोजनका लागि फाराम भरेका छन् । यस्तै क्रमशः तेस्रोमा प्रदेश नं १ मा नौ हजार २९०, चौथोमा प्रदेश नं ४ मा सात हजार ९ सय ८४, पाँचौँमा प्रदेश नं २ मा छ हजार ९ सय २७ र छैठौँमा पाँच हजार २ सय ६ रहेका छन् ।
उपसचिव निरौलाले समायोजन रोजेकामध्ये ज्येष्ठताका आधारमा समायोजन गरिने बताउनुभयो । प्रदेशमा २२ हजार ७ सय ५५ कर्मचारी आवश्यक रहेकोमा ५८ हजार ६ सय २३ कर्मचारीले समायोजनका लागि फाराम भरेका थिए ।
कर्मचारीले समायोजनका लागि काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तह नै पहिलो रोजाइमा परेका छन् । कर्मचारीको रोजाइमा ७ सय ५३ स्थानीय तहमा सबभन्दा बढी काठमाडौं महानगरपालिका नै कर्मचारीको रोजाइमा परेको छ ।
काठमाडौं महानगरमा समायोजन हुनका लागि सात हजार २ सय १२ कर्मचारीले आवेदन फाराम भरेको उनले बताए । स्थानीय तहमा तीन लाख ५४ हजार २ सय २५ ले समायोजनका लागि फाराम भरेका छन् । एक कर्मचारीले ७सय ५३ स्थानीय तहमा फाराम भर्न पाउने व्यवस्था गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया