आजबाट शहिद सप्ताह शुरु, टेकुको पचलीमा शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली अर्पण गरिँदै

काठमाडौं । आज माघ १० गते । सहिद व्यक्तिगत स्वार्थ विना काम गर्ने र देश र जनताको भलाइका लागि आफ्नो ज्यानको समेत बलिदान दिने व्यक्ति मानिन्छन् ।

प्रजातन्त्र स्थापना एवं पुनस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा आजबाट शहीद सप्ताह शुरु भएको छ । 

काठमाडौं महानगरपालिकाको संयोजनमा माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिन्छ ।

आज बिहीवार पहिलो दिन टेकुको पचलीमा शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली अर्पण गरी शहीद सप्ताहको थालनी गरिने कार्यक्रम छ ।

१९९७ साल माघ १० गते राति १२ बजे काठमाडौंको पचलीमा एउटा बकाइनोको रुखमा शहीद शुक्रराज शास्त्रीलाई झुण्ड्याएर मारिएको थियो ।यसैगरी शहीदको रूपमा शहीद धर्मभक्त माथेमालाई माघ १३ गते मारिएको थियो भने  १९९७ माघ १४ गते शहीद दशरथ चन्दलाई काठमाडौंको शोभाभगवतीमा नर शमशेर राणाले गोली हानी हत्या गरेका थिए । यसैगरी १९९७ माघ १४ गतेकै राति १० बजे शोभाभगवतीमै लगेर नर शमशेर राणाले शहीद गंगालाल श्रेष्ठलाई एउटा खम्बामा बाधेर निर्मम तरिकाले गोली हानी हत्या गरेका थिए । 

नेपालको इतिहास हेर्ने हो भने पहिलो सहिदको रुपमा लखन थापालाई लिइन्छ । पल्टनका लाहुरे लखन थापालाई जंगबहादुरको विरुद्धमा प्रचारवाजी गरेको आरोपमा वि.सं. १९३३ सालमा गोरखाको मनकामना मन्दिर अगाडि रूखमा झुन्डाएर मारिएको थियो ।

त्यसैगरी नेपालमा केही राजनीतिक परिवर्तनमा लागेर घाइते तथा पीडित भएका व्यक्तिहरूलाई जिउँदा शहीद भनेर घोषणा गरिएको थियो ।

नेपालमा सबैभन्दा पहिला नेपाल प्रजापरिषद नामक राजनीतिक पार्टी खोली प्रजातान्त्रिक आन्दोलनको सूत्रपात गर्ने देशभक्त र उच्च राजनीतिक चिन्तक टङ्कप्रसाद आचार्यलाई भने ब्राह्मण भएकाले मार्न हुँदैन भनी चारपाटा मुडेर सुँगुरको पाठो झुण्ड्याई आजीवन कारावासको सजाय दिएको हुनाले उनलाई नेपालको इतिहासमा जिउँदो शहीदको रूपमा लिइन्छ । 

त्यस्तै मुकेश कायस्थ, विष्णुलाल महर्जन ऐतिहासिक जनआन्दोलन २ का जिउँदा शहीद हुन् ।

देशका लागि जीवन बलिदान गर्ने शहीदहरुप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म शहिद सप्ताहको रुपमा यो दिवस मनाइन्छ र १६ गते शहिद दिवस मनाइन्छ ।

शहीद दिवसका अवसरमा पहिले सार्वजनिक बिदा दिने गरिए पनि हाल सरकारले यो बिदा कटौती गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?