१२ आश्विन २०८०, शुक्रवार

संसारीमाई महापूजा आजबाट शुरु

२०८०,जेष्ठ,१४,आईतवार १२:१५

27
Shares

महोत्तरी । सुख, समृद्धिकी प्रतीक, विघ्नहारिणी र पापनासक मानिने देवी संसारीमाईको प्रत्येक पाँच वर्षमा हुने महापूजा तयारीले जलेश्वरको चहलपहल बढाएको छ । यही जेठ २६ गते असार कृष्ण षष्ठी तिथिमा हुने महापूजाको तयारी शुरु भइसकेको छ ।

परापूर्वकालमा विदेहराज जनकको राज्यकालदेखि नै संसारीमाईलाई सहकालकी देवीका रूपमा मानिदै आइएको जलेश्वर नगरवासी बताउँछन् । देवाधिदेव श्री जलेश्वरनाथ महादेवस्थान नजिक स्थापित संसारीमाई देवी दुर्गाकी अवतार र प्रसिद्ध शक्तिपीठका रूपमा वर्णित र पूजित रहेकी जिल्ला समन्वय समिति महोत्तरीका पूर्वप्रमुख जलेश्वर–८ का बासिन्दा सुरेशप्रसाद सिंह बताउछन्।

यसपालिको संसारीमाई महापूजा साताव्यापी आयोजना हुँदैछ । यस क्रममा यही आउने शुक्रबार (जेठ १९ गते) देखि विधिवत महापूजा थालिने श्री संसारीमाई महापूजा व्यवस्थापन समिति २०८० का अध्यक्ष अशोककुमार साहले जानकारी दिए।

शुक्रबारका दिन महापूजा सङ्कल्प सम्पन्न गरिएसँगै ग्रामदेवताको आराधना, पाञ्चायन देवीदेवताको पूजनसँगै श्रीमद्भागवत् गीता र चण्डी पाठ सुरु गरिने साहको भनाइ छ । यसबीचमा जलेश्वर नगरपालिका र नगरभित्रका विभिन्न सामाजिक सङ्घसंस्थाको समन्वयमा दैनिक सरसफाइ, महापूजास्थलको व्यवस्थापन, श्रद्धालुको बसोबास व्यवस्थापन र नगरभित्र ठाउँ–ठाउँमा खानेपानी र शौचालय सुविधा बढाउने काम भइरहेको श्री संसारीमाई महापूजा व्यवस्थापन समितिले जनाएको छ ।
महापूजाको तयारीमा जलेश्वर नगरका प्रत्येक घरघरका सदस्य परिचालित देखिएका छन् ।

महापूजाको अवसरमा देवी संसारीमाईको दर्शन र पूजाआराधनामा सरिक हुन आउने श्रद्धालुबाहेक प्रसाद ग्रहणका लागि घरघरैबाट निम्त्याइने पाहुनाको जमघट निकै बढ्ने समितिका अध्यक्ष साह बताउछन्। “महापूजाको प्रसाद ग्रहणका लागि घरघरैबाट आफन्त डाकिन थालेका छन्, प्रत्येक घरमा १०÷२० जना पाहुना हुनु स्वभाविक नै हुनेछ”, अध्यक्ष साह भने, “यसअघि २०७५ वैशाखमा भएको महापूजामै सात लाख श्रद्धालु आएका अनुमान गरिएको थियो, यसपालि यो सङ्ख्या झन् बढ्ने अनुमान छ ।”

महापूजाको तयारीमा नगरभरि धमाधम स्वागतद्वार, पण्डाल निर्माणदेखि रङ्गीविरङ्गी धजा गाडिँदैछन् । सीमापारि भारतका मधुवनी र सीतामढी जिल्लासँगको जलेश्वर नगरको सीमा छुट्टिने दशगजावारि भारतीय पाहुनालाई स्वागत गर्न तोरण टाँग्ने तयारी छ ।

विगतमा प्रत्येक १२ वर्ष र त्यसपछि प्रत्येक सात वर्षमा हुँदै आएको महापूजा पछिल्ला केही दशकयता पाँच वर्षको अन्तरालमा आयोजन गरिन थालिएको हो । समाजमा अनिष्टका घटना बढ्न थालेपछि त्यसको निवारणका लागि श्री संसारीमाईको महापूजा अघि सारिँदै अहिले पाँच वर्षमा आइपुगेको जलेश्वर–१ का सामाजिक कार्यकर्ता ७० वर्षीय सुधीर साह बताउछन्।

श्री संसारीमाईको महापूजा विशेष नगरउत्सव रहँदै आएको जलेश्वर नगरप्रमुख सुरेश साहको भनाइ छ । “महापूजा नगरको विशिष्ट अवसर हो र खास पर्व पनि हो”, नगरप्रमुख साह भन्छन्, “हामी यसलाई भव्य, शालीन र भक्तिमय बनाउन लागिपरेका छौँ ।”

श्री संसारीमाईको साताव्यापी महापूजाको अन्तिम दिन विशेष तान्त्रिक विधिले माईको आह्वान गरेर पञ्चबलिबाट आराधना गरिन्छ । यस अवसरमा नगरका घरघरैजसोबाट पशुबलि (बोका) दिइन्छ । पाँच वर्ष बीचमा (एकअर्को महापूजाबीचको अवधि) मा घरमा सम्पन्न भएका विवाह, जन्म र अन्य शुभकार्यको भाग अलग्गै बलि दिइनुपर्ने सांस्कृतिक मान्यता रहँदै आएको छ ।

प्रकाशित मिति: २०८०,जेष्ठ,१४,आईतवार १२:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनको छेन्दु पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड तिब्बतको ल्हासाबाट आज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको विदेश भ्रमणबारे टिप्पणी गरेका छन् । नेकपा एमाले कोशी प्रदेशको उद्घाटनका

काठमाडौं । उप प्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले, वंशाणुगत रोगहरु नियन्त्रणका लागि पशु चिकित्सकको भूमिका महत्वपूर्ण हुने बताएका छन्

काठमाडौं । नेपाली बजारमा मंगलबारदेखि सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ । नेपाल सुन चाँदी व्यववसायी महासंघका अनुसार मंगलबारदेखि आज

ताजा समाचार

छेन्दु पुगे प्रधानमन्त्री प्रचण्ड
 २०८०,आश्विन,१२,शुक्रवार १३:५४
नेकपा एमाले बागमती प्रदेशमा मतदान शुरु
 २०८०,आश्विन,१२,शुक्रवार १२:३३
एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७