तरुण दलले आज प्रदेश २ को राजधानी जनकपुरमा विरोध प्रदर्शन गर्ने

जनकपुर । नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले आज प्रदेश २ को राजधानी जनकपुरमा विरोध प्रदर्शन गर्ने भएको छ । 

मंगलवार विराटनगरबाट सरकार विरोधी आन्दोलन शुरु गरेको तरुण दलले आज (बुधवार) प्रदेश २ को जनकपुरमा विरोध प्रदर्शन गरेर क्रमकि रुपमा  सातै प्रदेशमा प्रदर्शन गर्ने भएको हो । 

प्रदर्शनमा तरण दलका केन्द्रीय नेताको सहभागितामा विरोध जुलुस प्रदर्शन गरेको हो । 

मंगलवार विराटनगरस्थित शनीहाट चोकबाट शुरु भएको विरोध जुलुस नगर परिक्रमापछि महेन्द्रचोकमा कोणसभामा परिणत भएको थियो ।

सभामा तरुण दलका सभापति जितजंग बस्नेतले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरे । साथै देशमा एउटा अबोध बालिकाको  बलात्कारपछि हत्या भएको ६ महिना बित्दा पनि आरोपी पत्ता लगाउन नसक्नुमा सरकारकै संलग्नता भएको आरोप लगाएका छन् । उनलेसरकार नै त्यसलाई ढाकछोप गर्न सक्रिय भएका कारण सरकारमाथि नै प्रश्न उठेको आरोप लगाए । 

त्यस्तै देशलाई अधिनायकवादतर्फ जान नदिन तरुण दलले सात वटै प्रदेशमा विरोध जुलुस प्रदर्शन गर्न लागेको बस्नेतले बताए । 

जनताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समृद्ध नेपाल बनाउने आशामा दुई तिहाई मत दिएको तर त्यसको अबमूल्यन भइरहेकाले विरोधमा उत्रिन बाध्य भएको उनले बताए । 

मुलुकमा अहिले बढ्दै गएको हत्या, बलात्कार, भ्रष्टाचार, महंगीको आरोप कर्मचारीमाथि थोप्रेर सरकार पानीमाथिको ओभानो बन्न खोजेको आरोप समेत सभापति बस्नेतले लगाएका छन् । 

दुई तिहाइको सरकार गठन भएको बेला आफूहरुले चिठी पठाएर देशलाई समृद्ध बनाउनु होस् भन्दै प्रधानमन्त्री ओलीलाई शुभकामना दिएको स्मरण गर्दै उनले भने, ‘सरकारको बाटो उद्योगीतर्फ लागेकाले सचेत गराउन आन्दोलनमा उत्रिन बाध्य भएका हौँ ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?