प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यतालिका सार्वजनिक

लोकपथ
98
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डको भारत भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ । शनिबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यतालिका सार्वजनिक गरेको हो ।

जेठ १७ गतेदेखि शुरु हुने प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण २० गते सकिनेछ । प्रधानमन्त्री दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा सो भ्रमणमा जानलागेका परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीसँग भ्रमणमा नेपाल सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी हुनेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । यसैगरी प्रधानमन्त्री दाहालले जेठ १८ गते भारतका प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ ।
वार्तापछि दुबै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने छन् । भारतका प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् ।
प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले संयुक्तरुपमा आयोजना गर्ने नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्नाका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री दाहालले भारतका लागि नेपाली राजदूत शङ्करप्रसाद शर्माले आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी भई भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्नेछन् । उनले जेठ २० गते काठमाडौं फर्कनुअघि मध्यप्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीका रुपमा दाहालको यो चौथो भारत भ्रमण हो । यस भ्रमणले नेपाल र भारतबीचको सदियौँ पुरानो, बहुआयामिक र सौहार्द्रपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?