१४ वर्षीया बालिकाको बिहे गर्न ५० लाख खर्च

काठमाडौँ, ८ कात्तिक- सिरहाको लहान, नयाँ बजारका मोहम्मद ताहिर अन्सारीले छोरीको बिहेका लागि सम्पूर्ण तयारी गरेका थिए । मात्र प्रतीक्षा थियो जन्तीको । राति करिब ११ बजे जन्तीको लावालस्कर पनि आयो । ४० गाडीमा तीन सय जन्ती मण्डपमा भित्रँदा बेहुलीका अभिभावकको अभिमानसमेत बढेको थियो।स्वागतसँगै जन्ती खानपिनमा लागे । अभिभावक निकाह (बिहे)को तयारीमा लागे । सम्पूर्ण रूपले सिँगारिएकी बेहुलीलाई कोठाबाट मण्डपतिर लगिँदै थियो । त्यही वेला फिल्मी शैलीमा ‘यो बिहे हुन सक्दैन’ भन्दै प्रहरी पुग्यो । समारोहमा अचानक बिघ्न उत्पन्न भएपछि सबैजना अत्तालिए, नयाँ पत्रिकामा खबर छ   ।प्रहरीले अभिभावकलाई सोधे, ‘बेहुलीको उमेर कति हो ?’ अभिभावकले सुरुमा आनाकानी गरे पनि खुलासा गर्न बाध्य भए, ‘बेहुलीको उमेर १४ वर्ष मात्रै छ ।’ उमेर नपुगेकी बालिकाको बिहे गर्न पाइँदैन, अभिभावक र साक्षीलाई समेत मुद्दा लाग्छ भनेर प्रहरीले ठुल्ठूलो स्वरमा भन्न थालेपछि आफन्तहरूको भागाभाग भयो । बेहुलीपक्ष मात्र होइन, नाच्दैगाउँदै आएका जन्ती पनि तितरबितर हुँदै भाग्न थाले । ५० लाख रुपैयाँ खर्च गरेर आयोजना गरिएको बिहे समारोहमा कोलाहल मच्चियो । तर, प्रहरीले कसैलाई गिरफ्तार गरेन ।घरछेउकै मेरी चिल्ड्रेन एकेडेमीमा कक्षा ७ मा अध्ययनरत बालिकालाई बिहे गर्न आएका बिहार मधुवनीका मोहम्मद आशिफ एकवाल भने ३० वर्षका छन् ।स्थानीयका अनुसार जन्तीको स्वागतका लागि मात्रै १० लाख खर्च भएको छ । जन्तीलाई खुवाउन ८ वटा खसी काटिएको थियो । करिब २ लाखको मण्डप सजाइएको थियो । दाइजोको रूपमा बेहुलालाई दिन करिब ४० लाखबराबरको कार किनिएको थियो । बालिकाको बिहे गराउन खोजेकोमा अभिभावकलाई अहिले पनि पछुतो छैन । बरु बिहेका लागि भएको खर्च खेर गएकोमा भने उनीहरू दुःखी छन् । उनले भने, ‘विवाहका सबै सामान बर्बाद भएका छन् ।’नाबालिक छोरीको बिहे आयोजना गर्ने बाबुआमा आर्थिक रूपमा सम्पन्न र सामाजिक रूपमा प्रतिष्ठित मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?