लेखनाथ दाहालको प्रश्न : ‘त्यो सुन कसले खायो त ? ओलीले नैतिक जिम्मेवारी लिनुपर्छ’

लोकपथ
70
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिको जलहरी लगाउने क्रममा लागेको आरोपमा एमाले अध्यक्ष एवं तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारी लिनुपर्ने बताएका छन् ।

संसद अवरोध भएपछि पत्रकारहरुसँग कुराकानी गर्दै सांसद दाहालले आफूले ओलीलाई इंगित गरेर नभनेको भए पनि त्यसबेलाको प्रधानमन्त्रीको हैसियतले उनले जिम्मेवारी लिनुपर्ने बताए ।

उनले सो प्रकरणलाई छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न समेत माग गरेका छन् ।

‘संसदीय छानबिन समिति गठन गरौँ न त । त्यो कसले खायो त ? नैतिक हिसाबले सरकारको नेतृत्व गरेको नाताले तत्कालिन नेकपाको अध्यक्ष र प्रधानमन्त्री भएको नाताले त स्वभावैले केपी शर्मा ओलीले जिम्मा लिनैपर्छ । तर व्यक्तिगत हिसाबले किटान गरिएको छैन । उहाँको सरकारको पालामा भएको भ्रष्टाचारको काण्डको फेहरिस्त बताउने क्रममा उक्त कुरा आएको हो ।’ उनले भने ।

गत बुधबार बसेको प्रतिनिधि सभा बैठकमा दाहालले ओलीको पालामा ओम्नी, वाइडबडी लगायत पशुपतिमा जलहरी लगाउने क्रममा भ्रष्टाचार भएको विषय उठाएका थिए । तर सो दिन चुप रहेको एमालेले आजको बैठकमा अवरोध खडा गरेको छ । एमालेले गम्भीर विषयमा छानबिन नभइ सदन चल्न नदिने अडान कायम गरेको छ ।

२० मिनेटका लागि स्थगित भएको बैठक अझै बस्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?