काठमाडौं । शुक्रबारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध खडा गरेको छ ।
बैठक शुरु हुने बित्तिकै एमाले सांसदहरुले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती दिँदै बैठकमा अवरोध गरेको हो ।
बुधबारको बैठकमा माओवादीका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष ओलीले आफूले भ्रष्टाचारीलाई उन्मुक्ति नदिने भने पनि उनी प्रधानमन्त्री रहेका बेला ठूला ठूला भ्रष्टाचारको काण्ड बाहिर आएको आरोप लगाएका थिए ।
नीति तथा कार्यक्रमाथिको छलफलका क्रममा उनले यति ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्री खरिद लगायत पशुपतिमा जलहरी लगाउँदा समेत भ्रष्टाचार गरेको आरोप लगाएका थिए । ओलीले पशुपतिमा जलहरी सुनको लगाउनु पर्नेमा पित्तलको लगाएर त्यसमा समेत भ्रष्टाचार गरिएको आरोप लगाएका थिए ।
बैठकमा भाग लिँदै दाहालले भनेका थिए, ‘गएको तीन वर्ष सरकारमा जाँदा ७ खर्ब ऋण थियो, १७ खर्ब कसरी पुग्यो? सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन भन्नुभयो, तर उहाँ सरकारमा बस्दा कति भ्रष्टाचारको काण्ड भए? यति ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्री खरिदमा भएको २ अर्बको भ्रष्टाचार, त्यतिमात्र होइन, पशुपतिनाथमा सुनको जलहरी लगाउँदा पनि सुन लगाउने भनेर पित्तल लगाइदिएर गरेका भ्रष्टाचारहरूका सयौँ यस्ता काण्ड छन् ।’
सोही विषयलाई लिएर आज संसद बैठक २० मिनेटका लागि स्थगित गरिए पनि अझै बैठक सुचारु हुन सकेको छैन । बैठकमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले सत्तापक्षले प्रतिपक्षमाथि लगाएको गम्भीर आरोपको पुष्टि गर्न माग गर्दै त्यसलाई रेकर्डबाट हटाउन समेत माग गरेको छ । त्यतिमात्र नभएर एमालेले दाहालले माफी माग्नुपर्ने समेतको माग राखेको छ ।
पशुपतिको जलहरी लगाइएको विषयमा यसअघि महालेखा परीक्षकको कार्यालयले समेत प्रश्न उठाएको थियो ।
आजको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची रहेको थियो । तर अवरोधका कारण उक्त कार्यसूची प्रभावित हुने देखिएको छ ।
अहिले बैठक स्थगित गरेर अहिले सभामुखको कार्यकक्षमा छलफल चलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया