संसद अगाडी कसले गर्यो प्रदर्शन ? २१ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले संघीय संसद भवन अगाडि धर्ना प्रदर्शन गरेको छ ।

मंगलवार दिउँसो संसदलाई ढाट्ने मन्त्री रविन्द्र अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर्न, वाइड बडी जहाज खरिद भ्रष्टाचारमा संलग्न मूल दोषीहरुलाई कारबाही गर्न र सत्याग्रही डा. गोविन्द केसीसँग सरकारले गरेका पूर्व सहमतिहरु कार्यान्वयन गर्न आग्रहसहित मानव अधिकार समाजले संसद भवन अगाडि धर्ना प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी सल्लाहकारहरु होमकान्त चौलागाई, डा. गंगाधर अधिकारी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य गीता तिमल्सिनासहित २१ जनालाई गिरफ्तार गरेको छ । 

गिरफ्तार हुनेहरुमा काठमाडौं शाखाका सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, अधिकारकर्मीहरु ईश्वर पुडासैनी, सुकदैव अधिकारी, वि.पी पौडैल, ईश्वरी नैपाल, रुपा गिरी, बाबुराम न्यौपानै, नारायण श्रैष्ठ, विनीत अर्याल, किरण ढकाल, मुरारीप्रसाद फुयाल, नानीकाजी गिरी र अमृतजंग महत हुनुहुन्छ । गिरफ्तार गरिएका सबैलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । 

धर्नामा अधिकारकर्मीहरुले ‘ठूला नेता मिलेका : साढे चार अर्ब निलेका, दुई तिहाइ सरकारको उपहार : साढे चार अरव भ्रष्टाचार, डा. केसीसँगको सहमति कार्यान्वयन गर, जहाज खरिद भ्रष्टाचार : मूल दोषीहरुलाई कारबाही गर, ढटुवा मन्त्री बर्खास्त गर’ लगायतका प्लेकार्ड बोकेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?