उपत्यकाका स्थानीय तहको बजेट तर्जुबारे सञ्जालमा छलफल

लोकपथ
13
Shares

काठमाडौँ । स्थानीय तहले नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्दा प्राथमिकतालाई प्राथमिकीकरण गर्नु पर्ने अर्थविदहरुले सुझाव दिएका छन् । उपत्यका उपप्रमुख÷उपाध्यक्ष सञ्जालको तेस्रो बैठकमा स्थानीय तहको वार्षिक नीति, बजेट तथा कार्यक्रम तर्जुमा विषयक कार्यपत्र प्रस्तुतिका क्रममा यस्तो अर्थविद्हरुले यस्तो सुझाव दिएका हुन् ।

सञ्जालको पहिलो बैठक काठमाडौँ महानगरपालिकाले, दोस्रो बुढानिलकण्ठ नगरपालिकाले आयोजना गरेका थिए । हरेक महिना बस्ने बैठक नगरपालिकाहरुले पालो पालो आयोजना गर्ने गरेका छन् । जुन नगरपालिकाले बैठक आयोजना गर्छ, उही नगरपालिकाका उपप्रमुख÷उपाध्यक्षले बैठकको अध्यक्षता गर्ने गरेका छन् ।

बुधबारको बैठकमा प्रस्तुति गर्दै अर्थ मन्त्रालयका सहसचिव (बजेट महाशाखाका प्रमुख) धनीराम शर्माले, संवैधानिक अधिकार, नगरको आवधिक योजना, संघ र प्रदेश सरकारका कार्यक्रम, नागरिकका सुझावका आधारमा योजना तर्जुमा गर्नु पर्नेमा जोड दिए । ‘स्रोतको सीमा, क्षेत्रगत कामको सन्तुलन, अनुदान (समानीकरण, सशर्त, निशर्त) आन्तरिक आय विश्लेषण गर्नुपर्छ । पैसाका आधारमा योजना बनाउनु हुँदैन । योजनाको लागत बनाएर त्यसका आधारमा बजेट बिनियोजन गर्नुपर्छ । यसबाट कार्यान्वयन योग्य कार्यक्रम निर्माण हुन्छ ,’ शर्माको सुझाव छ ।

शर्माले काठमाडौँ महानगरमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा २०७४ श्रावण ३२ गते पद वहाली गरेका थिए ।

बैठकमा महानगरकी उपप्रमुख सुनिता डंगोलले, नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्ने समय पारेर विज्ञहरुसँग छलफल गराएपछि उपत्यकालाई एउटै मापदण्ड र कार्यक्रमका आधारमा विकास गराउन सहज हुने धारणा राखिन् । ‘नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्नभन्दा कार्यान्वयन गरेर नतिजा ल्याउनु महत्वपूर्ण काम हो,’ उपप्रमुख डंगोलले भनिन् ।

उपत्यकालाई सांस्कृतिक समृद्ध नगरका रुपमा विकास गराउन समान बुझाइ विकास गराउनमा सञ्जालका क्रियाकलाप थप लाभदायी बन्दै गएको धारणा राखिन् ।

धारणा राख्ने क्रममा सूर्य विनायक नगरका प्रमुख बासुदेव थापाले, नगरको विकासका लागि प्रमुख र उपप्रमुखहरुका बिचमा कुनै पनि विषयमा फरक मत नरहेको धारणा राखे । ‘बजेट निर्माण, स्रोतको अनुमान, राजस्वलगायत क्षेत्रमा उपप्रमुखको नेतृत्वमा काम हुन्छ । उपप्रमुखहरुका बिचमा साझा धारणा निर्माण हुँदा उपत्यकाको दिगो विकासमा सहयोग हुन्छ,’ प्रमुख थापाको भनाइ थियो ।

आपसी अनुभव आदान प्रदान गर्दा उत्पादन प्रवर्धनमा पनि टेवा पुग्छ । कार्यक्रममा सूर्य बिनायक नगरकी उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले भनिन्, ‘हाम्रो नगरपालिकामा कुरिलो लगायत तरकारीजन्य उत्पादन हुन्छ । यो काठमाडौँलाई चाहिएको छ । इलाम नगरले निर्यात गर्ने चिया प्याकेजिङ् गर्न जनशक्ति पाएको छैन । त्यो काम हामी गरिदिन सक्छौँ ।’

आवश्यकता पहिचान नगरी संघ र प्रदेश सरकारबाट आउने कार्यक्रम कार्यान्वयन गराउन पालिकाहरुलाई समस्या छ । बैठकमा बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले भनिन्, ‘वडाध्यक्षले शिफारिस नगरी आफ्नै वडाको योजना नगरपालिकाले कार्यान्वयनमा ल्याउँदैन । प्रदेश र संघ सरकारका योजना थाहै नपाइ आउँछन् ।’ त्यस क्रममा दक्षिणकाली नगरपालिकाकी उपप्रमुख बसन्ती तामाङ् डंगोलले, गत बर्षका क्रमागत योजनालाई निरन्तरता दिन स्रोतका कारण चुनौती रहेको उल्लेख गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?