काठमाडौं । राष्ट्रि प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले प्रदेश संरचना खारेजीको माग गरेको छ । सोहीअनुसार राप्रपा नेपालले पार्टी अन्तर्गतका प्रदेशतहका सबै इकाइहरु विघटन गर्ने निर्णय गरेको छ।
राप्रपा नेपाल केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरुको संयुक्त विस्तारित बैठकले संघीय संरचना अन्तर्गतको प्रदेश तह आर्थिकरुपमा बोझिलो तथा अनेकौ राजनीतिक विकृति र विसंगतिको कार्यथलो सावित भएको ठहर गरेको प्रवक्ता बसन्त मानसिंह अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘केन्द्रमा बलियो सरकार र स्थानीयतहमा अहिलेको भन्दा पनि बढि अधिकार सम्पन्न सुदृढ स्थानीय स्वायत्त सरकार गरी दुई तहको संरचना वा सरकार कायम गरिनुपर्छ भन्ने राप्रपा नेपालको धारणा रहेको छ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ , ‘ प्रदेशतहको सभा र सरकार सम्बन्धि वर्तमान व्यवस्था खारेज गर्न राप्रपा नेपाल माग गर्दछ ।प्रदेशतहको संरचना खारेज हुनपर्छ भन्ने पार्टीको दृढ मान्यता भएको कारण राप्रपा नेपालको पार्टी अन्तर्गतका प्रदेशतहको सबै ईकाईहरु विघटन गर्ने बैठक निर्णय गर्दछ ।’
बैठकले नक्कली भुटानी शरणार्थी भ्रष्टाचार काण्डमा संलग्नलाई कारबाही गर्न र धर्म परिवर्तन रोक्न माग गरेको छ । यस्तै हाल विद्यमान मिश्रित निर्वाचन प्रणालीको सट्टा संविधानमा संशोधन गरेर पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम गर्न पनि बैठकले माग गरेको छ ।
बैठकले आगामी २०८० फागुन ७, ८ र ९ गते काठमाडौंमा तय भएको केन्द्रीय महाधिवेशनलाई दृष्टिगत गर्दै पार्टीको संगठन विस्तारलाई युद्धस्तरमा कार्यान्वयन गर्ने, देशको सम्पूर्ण ७५३ वटै पालिकाहरुमा पार्टीको ईकाई गठन गर्ने तथा क्रमशः वडातहमा समेत ईकाई गठन कार्यलाई तिव्रता दिने निर्णय गरेको अधिकारीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया