तनहुँका एक सय ५७ सामुदायिक वनमा आगलागी

लोकपथ
49
Shares

तनहुँ । यस वर्ष यहाँ एक सय ५७ सामुदायिक वनमा आगलागी भएको छ ।

आगलागीका कारण तीन हजार छ सय हेक्टर क्षेत्रफलमा क्षति भएको डिभिजन वन कार्यालयले जनाएको छ । वनमा आगो लगाउने व्यक्तिको पहिचानका लागि कडाइका साथ सुराकी लगाउने गरे पनि पत्ता लगाउन नसकिएको डिभिजन प्रमुख कोमलराज काफ्लेले जानकारी दिएका छन् । जिल्लाको ऋषिङ गाउँपालिका, भानु नगरपालिका र व्यास नगरपालिका क्षेत्रमा आगलागीका कारण धेरै क्षति भएको उनले बताए ।

बस्ती बढी भएका ठाउँमा डढेलो लाग्ने गरेकाले सुराकी दिने व्यक्तिको नाउँ गोप्य राखी कार्यालयले प्रोत्साहन रकमको समेत व्यवस्था गर्दै आए पनि संलग्न व्यक्तिको पहिचान गर्न कठिनाइ भएको उनले  बताए ।

प्रायःजसो माथि वन र तल खेतबारी रहेका मानिसले वनमा डढेलो लगाउने गरेको पाइएको छ । उनले भने
,“वनमा डढेलो लगाउँदा बन्ने  खरानी पानी परेसँगै आफ्नो खेतबारीमा बगेर जाने र मल हुने सोचले आगलागीका घटना बढ्ने गरेको छ ।”

कतिपय मानिसले वनमा डढेलो लगाउँदा कलिलो घाँस पलाउने, विभिन्न किसिमका च्याउ उम्रिने भएकाले पनि सुक्खा मौसमको समयमा वनमा जथाभावी डढेलो लगाउने गरेको पाइएको छ । वनमा जथाभावी डढेलो लगाउँदा वन्यजन्तु, जनावर, जनावरको बासस्थान र कलिला बोटबिरुवा लगायत जलेर नष्ट भएको डिभिजन वन कार्यालयले जनाएको छ । पछिल्लो समय पानी पर्न थालेसँगै आगलागीका घटनामा न्यूनीकरण भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?