भुटानी शरणार्थी प्रकरणबारे गगन थापा भन्छन्– ‘घरको होस् या बार्दलीको कारबाही होस्’

लोकपथ
35
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका जो कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका थापाले जोसँग जोडिएको व्यक्ति परे पनि कारबाही गर्नबाट सरकार चुक्न नहुने बताए ।

‘चाहे घर होस् चाहे बार्दलीको होस्। नेता होस् कि नाता होस्। सलामी गर्ने होस् कि सलामी लिने होस् एक जना पनि छुट्न हुँदैन,’ थापाले भने, ‘अनुसन्धान कहीँ न कहीँ लप्पकाएको छ भन्ने भयो भने विकल्पहरूबारे खोजी हुन्छ र प्रश्न उठ्छ।’

अहिले एकपछि अर्को व्यक्तिको नामहरु आइरहेको अवस्थामा आफ्ना वरिपरि रहेका मान्छेहरु समेत पर्ने हुन् की भन्ने संसय समेत पैदा भएको बताए । साथै यो प्रकरण नै सरकारको परीक्षाको घडी रहेको र जनताले त्यसलाई नियालिरहेको बताए ।

‘अहिले जसरी नामहरू आइरहेका छन् लाज पनि लजाएकोजस्तो भएको छ। को–को परेको हो, को–को नपरेको हो सुन्दासुन्दै। हाम्रो वरिपरि भएका जिम्मेवारी लिइरहेका एकपछि अर्को तानिँदै जाने हुन् कि भन्ने लागेको छ। तर यसमा सरकारको परीक्षा हेर्नुछ। अनुसन्धान कसरी भइरहेको छ सबै जनताले हेरिरहेका छन्।’ उनले भने ।
त्यस्तै जसको नाम आएको छ उनीहरुमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताउँदै प्रहरीको छानबिनपछि उक्त प्रकरण न्यायालयमा जाने भन्दै न्याय दिनेगरी न्यायालयले काम गर्ने विश्वास समेत व्यक्त गरे ।

‘जसको नाम आएको छ उसलाई निष्पक्ष अनुसन्धान गरिनुपर्छ। कसैले पनि यसबाट मुक्ति पाउने अवस्था छैन। सरकारको पछि अब न्यायालयको पनि परीक्षा सुरू हुन्छ,’ थापाले भने, ‘अदालतले मैले न्याय गरेँ भनेर मात्र पाउँदैन। न्यायको अनुभूति हुनुपर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?