बर्दघाटमा ट्रमा सेन्टर बनाउन जग्गा सुनिश्चित

लोकपथ
0
Shares

नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)को बर्दघाटमा ट्रमा सेन्टर बनाउन आवश्यक जग्गा सुनिश्चित गरिएको छ । बर्दघाट नगरपालिका–२ चिसापानीस्थित राष्ट्रिय आवास कम्पनीको नाममा रहेको कुल आठ बिघा दुई कठ्ठा १२ धुर जग्गामध्ये एक बिघा १० कठ्ठा जग्गामा ५० शय्याको ट्रमा सेन्टर बनाइने भएको छ ।

बर्दघाट नगरपालिका र राष्ट्रिय आवास कम्पनीबीच ट्रमा सेन्टर बनाउनका लागि जग्गाको सम्झौता भएको छ । कम्पनीसँग भाडामा लिइएको सो जग्गामा अब सुविधासम्पन्न ट्रमा सेन्टर निर्माण हुने छ ।

ट्रमा सेन्टर निर्माणपश्चात उक्त सेन्टर लुम्बिनी प्रदेशकै सुविधायुक्त स्वास्थ्योपचार थलोका रूपमा स्थापित हुने विश्वास लिइएको बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले बताए ।

ट्रमा सेन्टर निर्माणका लागि आर्थिक वर्ष २०७८÷७९ मा सङ्घीय सरकारको वार्षिक स्वीकृत कार्यक्रमअनुसार रु १० करोड विनियोजन गरिएको थियो । तर बनाउनका लागि जग्गा यकिन हुन नसक्दा उक्त रकम फ्रिज भएको थियो ।

राष्ट्रिय महत्वपूर्ण आयोजनाका रूपमा मानिएको ट्रमा सेन्टर निर्माण हुने सुनिश्चितताले यस क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास गरिएको सङ्घीय सांसद विनोद चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?