दुवै खुट्टा गुमाएका सगरमाथा आरोहीलाई विमानस्थलमा स्वागत

लोकपथ
98
Shares

काठमाडौं । घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई आज त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ ।

लुक्लाबाट काठमाडौं आइपुगेका आरोही बुढालाई सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै  मगर समूदायले झाँकी सहित स्वागत गरेका हुन्।

भूतपूर्व गोर्खा सैनिक समेत रहेका बुढा यही जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुुगेका थिए । योसँगै उनले घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही समेत बनेका छन्। उनले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गरेका हुुन् ।

स्वागत गर्दै पर्यटन मन्त्री किरातीले आरोही हरिबहादुर बुढाले आफ्नो जीवनमा अदम्य साहस पटक–पटक देखाएका भन्दै हार्दिक बधाइ दिएका छन्।

“हरिबहादुर बुढाले सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट नयाँ सन्देश दिएका छन्”, मन्त्री किरातीले भने, “उनले विश्व समूदायलाई अथक मेहनत र इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिएका छन् ।”

सो अवसरमा आरोही बुढाले आफ्नो सफलतामा सहयोग गर्ने टीमलाई विशेष धन्यवाद दिएका छन् । “आफ्नो व्यस्त समयका बाबजुत पनि तपाईंहरु मलाई स्वागत गर्न आएका छन् । यसका लागि म धेरै–धेरै धन्यवाद दिन चाहन्छु”, उनले भने, “आफ्नो ज्यानको बाजी राखेर मलाई सगरमाथाको चुचुरोमा पुर्याउने टीम बिना मेरो प्रयास सफल हुने थिएन ।” उनले सो अवसरमा नेपाल सरकार र संसारका विभिन्न कुनाबाट आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?